राजसंस्था ल्याउन गणतन्त्रवादीहरुसंग राजावादीको मुडभेड गर्ने तयारी रहेको खुलासा

बुधबार, ६ चैत्र २०८१

काठमाडौं – राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष एवं राजनीतिज्ञ नवराज सुवेदीले सबै राजनीतिक दलहरु समझदारीमा आएर राजसंस्था पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।

मंगलबार एक टेलिभिजनमा संवाद गर्दै उनले राजसंस्था पुनर्स्थापनाको लागि दलहरु समझदारीमा नआए संघर्ष हुने बताएका हुन् । उनले आफूहरुले मुडभेड नचाहेको र सकेसम्म दलहरु समझदारीमा आउन भन्ने अपेक्षा राखेको बताए ।

राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको जनआन्दोलन संयोजन समितिका संयोजकसमेत रहेका सुवेदीले पूर्वराजा ज्ञानेन्द्रलाई दल खोल्न चुनौती दिने, दल खोलेर आइज भन्ने र राजालाई गाली गरिनु गलत रहेको उनले बताए ।

नेता सुवेदीले अब राजावादी र गणतन्त्र पक्षधरबीच मुडभेड हुने बताए । संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजी आफूहरुको माग रहेको र यो प्राप्ति नभएसम्म आन्दोलन निरन्तर अगाडि बढ्ने उनले बताए ।

आफू राजसंस्थावादी र कट्टर हिन्दु रहेको बताउँदै उनले अहिले ती दुवै कुरा मासिएको र पुनर्स्थापना हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले सुनाए । सोही मान्यताअनुसार आफूले राजसंस्था पुनर्स्थापनाको नेतृत्व लिएको बताए ।

पूर्वराजा ज्ञानेन्द्र र आफ्नो सम्बन्ध राम्रो रहेको बताउँदै उनले पछिल्लो समय ६ महिनादेखि आफूहरुको भेट नभएको सुनाए । उनले पूर्वराजा ज्ञानेन्द्र पुनः राजा बन्ने र त्यसपछि उनको उत्तराधिकारी नाती हुने नेता सुवेदीले बताए ।