विभिन्न होटलमा भारतीयको अबैध ‘एजेण्ट मिट’, सहभागी एजेण्ट पनि निगरानीमा
काठमाडौँ – विभिन्न होटलमा भारतीय कम्पनीले एजेण्ट मिटका नाममा गैरकानुनी कार्य गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चासो लिएको छ । मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले अबैध एजेण्ड मिट गर्ने संस्थालाई कारवाही गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।
शाखाले यसरी एजेण्ट मिट गर्ने भारतीय कम्पनीको नामसहित बुधबार पत्राचार गरेको हो । ‘हालका दिनहरुमा यस मन्त्रालयको अनुमति प्राप्त नगरी विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरुले नेपालका होटलहरु तथा आफ्नै कार्यालयमा समेत ठुला मेलाहरु आयोजना गर्ने गरेको र त्यसबाट नेपाल सरकारको राजश्व आम्दानीमा असर पुग्नका साथै नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनमा विभिन्न समस्या परेका छन् ।’, शाखाले गृहमन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘निर्देशिका विपरित सञ्चालन हुने यस्ता कार्यक्रमहरु रोकी त्यस्ता संस्थाहरुलाई प्रचलित कानुन बमोजिम कारवाही हुन मिति २०८१/१२/०६ को निर्णय अनुसार अनुरोध छ ।’
भारतीय कम्पनी इम्पेरियलले आज बेलुका ६ बजे गर्न लागेको इभेन्ट, मिडप्रो इन्टरनेशनल र अर्को एक कम्पनीले गर्न लागेको कार्यक्रम रोक्नका लागि पत्राचार भएको छ । यी कम्पनीले कार्यक्रम गर्नका लागि अनुमति नलिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा विदेशी कम्पनीले इभेन्ट गर्दा १ हजार अमेरिकी डलर राजश्व तिरेर मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ । मन्त्रालयमा सूचीकृत शैक्षिक कन्सल्टेन्सीले इभेन्ट गर्दा ५ हजार रुपैयाँ राजश्व लाग्ने बताइएको छ ।
यस्ता अबैध इभेन्टमा सहभागी हुने शैक्षिक परामर्श व्यवसायीमाथि पनि प्रशासनको निगरानी हुने गृहमन्त्रालयले जनाएको छ । भारतीयको पन्जामा परेर धेरै नेपाली विद्यार्थी, शैक्षिक कन्सल्टेन्सी र अभिभावकले दुख पाएको भन्दै यसलाई नियन्त्रणका लागि निगरानी बढाएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।