सुमना श्रेष्ठसहित तीन जनाको नागरिकता छानविन प्रक्रिया रद्द
काठमाडौँ – रास्वपा सांसद सुमना श्रेष्ठसहित तीन जनाको नागरिकता छानविन प्रक्रिया रोकिएको छ । श्रेष्ठसँगको पोल्याण्डको नागरिकता रहेको आरोपमा उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानविन थालेको थियो ।
पोल्याण्ड लगायतका युरोपेली देशसँग ‘म्युचुअल लिगल एग्रिमेन्ट (एमएलए) नभएका कारण उनीसहित धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु र अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीको पिआर छानविन रोकिएको हो ।
दुई देशबीच सूचना आदानप्रदानसम्बन्धी सम्झौता नभएसम्म कुनै पनि व्यक्तिको विवरण दिन नमिल्ने भनी उताको सरकारले कडा शब्दमा जवाफ फर्काएसँगै सरकार अन्योलमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रले तीन वरिष्ठको पिआरमाथि छानबिन थालेको थियो ।
छानमिन रद्द हुनेमा श्रेष्ठ समित धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु र अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनाली छन् ।
उनीहरूसँग पिआर भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । श्रीमान् पोलिस नागरिक भएकाले केन्द्रले सुमनासँग पनि सोधपुछ गर्यो । तर, उनले आफूलाई पिआरबारे जानकारीसमेत नभएको बताइन् । त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत जर्मनीको राजदूतावासलाई पत्राचार गरियो ।
राजदूतावासले पोल्याण्डको परराष्ट्र मन्त्रालयलाई पत्र लेख्यो । त्यताबाट कुनै जवाफ प्राप्त नभएपछि यताबाट पुनः पत्र लेखेर राजदूतावासलाई ‘फलोअप’ गर्न निर्देशन दिइयो । दुईपटकको पत्रपछि पोल्याण्डबाट बल्लतल्ल ‘सम्झौता नभइकन व्यक्तिगत विवरण दिन नमिल्ने’ जवाफ फर्काइएको छ । त्योसँगै सुमनाको पिआर खोज्ने सरकारी योजनामा ‘ब्रेक’ लागेको छ ।