नेवा संस्कृतिको इतिहास उत्खनन गर्दै कीर्तिपुरका शरदमंगल जोशी

आइतबार, १० चैत्र २०८१

अभियन्ता हुन बन्दुक बोक्नु पर्दैन । बम पडकाउनु पर्दैन । यहाँसम्म कि भएको आवाजको पनि अवव्यय नगरी, अभियन्ता हुन सकिँदो रहेछ । यस्को लागि एउटा काठको ठुटो अर्थात एउटा कलम पनि पर्याप्त रहेछ । यसको एउटा ज्वलन्त उदाहरण हुन्, कीर्तिपुरमा आज भन्दा पाँच दशकअघि पिता भरतमंगल जोशी र माता मैया जोशीको कोखबाट जन्मिएका ई.शरदमंगल जोशी, जो अहिले नेवा संस्कृतिको इतिहास उत्खननमा लागेका छन् र उद्घाटित भएको संस्कृतिलाई व्यवहारमा पनि अभ्यास गर्दैछन् । फलस्वरुप हालै कीर्तिपुरस्थित जोशीननी हेरिटेजमा सम्पन्न भएको थायभुमा पस्केका चौरासी ब्यञ्जनको भोज यसैको उपज हो । यसरी लोप हुनै लागेका संस्कृति र संस्कारलाई ब्युँताएर, सोह्रो र सत्रो शताब्दीलाई एक्काइसौ शताब्दीसँग हातेमालो गराउनु मामुली कुरा होइन ।

जीवनको उषाकालदेखि नै, जीवनमा केही स्मरणीय काम गर्नुपर्छ भन्ने उनको मनमा खटकिन्थ्यो । पढाइदेखि धेरै कुरा सँगै जोडिएको सहोदर भाइ संंजयमंगल जोशी बीस वर्षअघि उच्च शिक्षा अध्ययनको सिलसिलामा आफ्नो सपना पछयाउँदै अमेरिका लाग्दा, उनको लागि पनि त्यो बेला अमेरिका स्वप्ननगर नै थियो । परिवारिक जिम्मेवारी र स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना पुष्पित भएर त्यो बेला उनले नेपालमै बस्ने निधो गरे । अचेल उनलाई विकल्पमा नेपाल नै रोज्नुमा कुनै पछुटो छैन । उनले नेपालमै बसेर आफ्नो आर्थिक उपार्जनको कर्मसँगसँगै इतिहासको अध्ययनमा पनि आफ्नो समय खर्चे । यसै अध्ययनस्वरुप उघारे, चौरासी ब्यञ्जनको इतिवृत र प्रयोग गरे हेरिटेजमा चौरासी ब्यञ्जनलाई थायभुमा । यस्तो अलौकिक र ऐतिहासिक भोजनका लागि उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु हेरिटेज आएका छन् । चौरासी ब्यञ्जनको भोजनमा उदय हुने मानिसको सन्तुष्टिको आभामा उनी दंग छन् र ग्राहकहरुको खृुसीहरुको ठेक्का लिएर जोशीननी हेरिटेजमै रातदिन खटिरहेका छन् ।

बिहान उठनेवितिकै उनको मानसपटलमा कीर्तिपुरको चित्र उदय हुन्छ । कला संस्कृतिलाई लिएर, अनेक भाँतिका मनमा विचार पल्लवित हुन्छन् । इतिहासका कितावहरुमा आफूलाई निर्लिप्त गर्छन् र पल्टाउँछन् संस्कृतिका पन्नाहरु, खोतल्छन् अतीतको भुइँलाई र झटारो हान्छन् इतिहासका लटरम्म फलहरुमा । यो अभियानमा, उनै कतै देखिँदैन, तर सर्वत्र पुग्छन् । संस्कृति र कलाको विशेष रुपमा अध्ययन् गरेर लेख प्रकाशित गर्छन् । यसरी उनी बौद्धिकरुपमा आफ्नो अभियानमा लागिरहेका एक बौद्धिक अभियन्ता हुन अर्थात यो भन्न सकिन्छ बौद्धिक योद्धा पनि हुन् ।

उनको अभियान होहल्लाभित्र पर्दैैन । उनलाई विक्षिप्त नेवा संस्कृतिको रगत देखाएर, चौरासीको चुनावको लागि तयारी गर्नु छैन । उनमा एउटै स्वार्थ छ, त्यो स्वार्थ हो इतिहास बचाउनु, नेवा संस्कृति जोगाउनु । यही उद्देश्यमा प्रेरित भएर खोले, जोशीननी हेरिटेज । एक्लै सम्भव थिएन, समुदायसँग हातेमालो गरे । उनको यो सुन्दर अभियानलाई सयौंले साथ दिए । उनीसँगै साथ देखिन्छिन्, उनको धर्मपत्नी एलिना जोशी, जस्ले उनको हरेक कदम कदममा अहोरात्र साथ दिएकी छिन् । यस्तै अनेकन प्रियजनको थानका थान सहयोग–साथलाई लिएर, उनी आजभोलि नेपाल भाषामा पिएचडीसँगैसँगै पुस्तक पनि लेख्दैछन् –‘थायभू संस्कारमा त्रिकोण विज्ञान’ । जुन पुस्तक अहिले प्रकासोन्मुख रहेको छ ।

उनले जोशीननी हेरिटेजलाई आर्थिक प्रलोभनमा प्रेरित बनाएन । हुन त जोशी, कीर्तिपुरको न्युरोड मानिने नयाँबजारमै आफ्नो सुविधासम्पन्न निवास भएको ब्यक्ति हुन् । उनले चाहेको भए, त्यहीँ कुनै रेष्टुरा खोलेर गिलासमा खन्याउन सक्थे विदेशी अनेकन स्वाद र रंगका मदिराहरु । हुक्काभित्र धुँवा गुडगुडाएर नयाँ पुस्तालाई लठ्ठ पार्न सक्थे । तर यस्को ठीक विपरित उनले लोप हुँदै गएको मल्लकालीन भोजनका अभ्यास, चौरासी परिकारको भोजनको आयोजना गरे, त्यो पनि त्रिखुट्टीवाला थायभूमै चौरासी ब्यञ्जन पस्केर, जुन अहिलेको समयमा निकै दुर्लभ मानिन्छ ।

जोशी केही वर्ष अघि पारिवारिक भ्रमणको सिलसिलामा बैंककको फुकेट भन्ने शहरको भ्रमण गरेका रहेछन् । भ्रमणको क्रममा उनले देखे त्यहाँ, दुई सय वर्ष पुरानो शहरमा पनि विकासको लहरहरु, शहरमा हाँगिएका गल्लीहरुमा पनि प्राचीन शभ्यता र आधृुनिकताको हातेमालो । उनी कीर्तिपुरलाई पनि बैंककको फुृकेट जस्तो विकशित गर्न सकिने धारणा राख्छन् ।

हाल भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्लको ‘जा भ्वय्’ ( भातको भोज ) को अध्ययन्मा उनी लागेका छन् । चौरासी ब्यञ्जन हुने परिकारमा भातको विविधता मात्र पन्ध्र प्रकारको हुन्छन् रे । मल्लराजाहरुले चिउराको वैकल्पिक भोजनको रुपमा प्रयोग गरेको भातको भोजनलाई उनी जोशीननी हेरिटेजमा प्रयोग गर्ने सोचमा छन् । त्यो आयोजना सम्पन्न भयो भने, सम्भवत् नेपालको इतिहासमै प्रयोग गरेको यसप्रकारको पहिलो भोजन सावित हुनेछ ।

पेशाले इन्जिनियर पनि भएकोले उनी कीर्तिपुरको वस्तुस्थितिको वारेमा पुरै जानकार छन् । ‘कीर्तिपुरमा अवस्थित हरेक पोखरीको आफ्नै महता छ, कीर्तिपुरको पोखरीलाई हेरेर स्वीजरलैन्डमा समेत त्यस्तै पोखरी निर्माण गर्न खोजियो भने हामी किन नाँस्न गइरहेका छौँ यस्ता पोखरीहरुलाई ?’ उनी पोखरीको संरक्षणलाई लिएर आफ्नो तर्क प्रस्तुत गर्छन् । ‘यहाँ भएका हरेक पोखरीले बस्तिलाई असर पर्नेबाट जोगाएको छ’, जोशी तर्कमा तर्क चढाउँछन् । ‘चिलम्चो विहारका सिँढीले पनि वर्षामा ओरालिने पानीलाई व्यवस्थापन गरेको छ । समग्रमा, कीर्तिपुरको अहिलेको भौतिक संरचना सजिलै निर्माण भएका छैन, यस्मा पुर्खाहरुको रगत र पसिना सिंचन भएको छ, यसैले यी सम्पदाहरु नाँस्नु हुँदैन’ भनेर सम्पदाप्रतिको अनुराग पोख्ने जोशीका विचारहरु अतृुलनीय छन् । उनलाई खासै अरुले चिन्दैन, यहाँसम्म कि कीर्तिपुर नगरपालिकाले त झन चिन्दै चिन्दैन, किनभने उनको अभियान मौन छ, बौद्धिक छ र शालीन छ । उनी अरु जस्तो फेसबुकमा हल्ला गर्दैन, टिकटकमा कराउँदैन, मेसेन्जरमा चिच्याउँदैन र टेलिभिजनमा आफ्नो अनुहार झुन्याउँदैन ।

संस्कृतिलाई साँच्चिकै प्रेम गर्ने हो भने यस्ता अभियन्तालाई साथ दिनु पनि संस्कृतिप्रतिको प्रेम उजागर नै हो । जोशीलाई कीर्तिपुरले मात्र होइन, पुरै देशले चिन्नुपर्छ र प्रोत्साहित गर्नुपर्छ ।