ससुराली हिँडेका एक युवाको विभत्स हत्या

आइतबार, १० चैत्र २०८१

काठमाडौँ – ससुराली हिंडेका एक युवाको विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८का २५ वर्षीय शिवशंकर महतो अपहरण पछि हत्या भएको हो । उनको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेर मुखमा आगो लगाएको अवस्थामा जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो । शव शुक्रबार साँझ साढे ५ बजे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो ।

प्रहरीले हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको जनाएको छ । महोत्तरी प्रहरी प्रवक्ता एवम् डिएसपी सन्तुलाल जयसवारले भने, ‘शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हाम्रो प्रारम्भिक अनुमान छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ।  शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए ।

मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए ।