बालेन शाह चौतर्फी घेराबन्दीमा
काठमाडौँ – काठमाडौंका मेयर बालेन शाह डेढ दर्जन वडाध्यक्षको घेराबन्दीमा परेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित १८ जना वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरुले मेयरलाई ज्ञापनपत्र बुझाउँदै कार्यपालिका बैठकको माग गरेका छन् ।
उनीहरुले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै प्रशासकीय अधिकृतका बारेमा निर्णय गर्न माग गरेका छन् ।काठमाडौं महानगरपालिकाका डेढ दर्जन वडाध्यक्ष र अन्य जनप्रतिनिधिले मेयर बालेनसँग तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
लामो समयदेखि मौन बसिरहेका उनीहरुले मेयर बालेनसँग प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि गरिएको कारबाही प्रक्रियाबारे जानकारी गराउन आग्रह गरेका हुन् । वडा नम्बर १७ का अध्यक्ष एवम् महानगर प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा १८ जना वडाअध्यक्षसहित नेपाली कांग्रेसका कार्यपालिका सदस्यहरूको हस्ताक्षर रहेको ज्ञापनपत्र बुझाइएको छ ।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई गरिएको कारबाही प्रक्रियाको जानकारी मागसमेत गरेका छन् । ८ नम्बर वडाका अध्यक्ष आशामान संगतका अनुसार केही दिनअघि वडा नम्बर १२ का वडाध्यक्ष बालकृष्ण महर्जनको अध्यक्षतामा बसेको अध्यक्षहरुको बैठकले कार्यपालिका बैठक तत्काल बोलाउने र प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको माग गर्ने निर्णय गरेको थियो ।