चन्द्रवीरले एक्लै खनेको बाटोमा गुड्न थाले गाडी
तुलसीपुर – तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा खनेको बाटोमा गाडी गुड्न थालेका छन् । दृष्टिविहीन श्रीमतीसँगै छोराहरुलाई आवतजावत गर्नै कठिन भएपछि उनले दुई वर्ष लगाएर बाटो खनेका थिए ।
न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खनेको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।
विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खनेको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ ।
चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेका हुन् । ‘श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन’, उनले भने, ‘श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।’
उनका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्छन्, अन्य तीन छोराले आँखा देख्दैनन् । अहिले उनका जेठो छोरा काठमाडौंमा दोहोरी साँझमा काम गर्छन् भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन् । कान्छो छोरा काठमाडौंमै छन् । उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् ।
चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन् । त्यही सहयोगबाट उनको दैनिकी चलेको छ । ‘कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ’, उनले भने, ‘यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ ।’