एक हजुरआमाले आफ्नै नातिलाई २ सय रूपैयाँमा बेचिन्
काठमाडौँ – एक वृद्धाले ७ बर्षको आफ्नै नातीलाई २ सय रुपैयाँमा विक्रि गरेकी छिन् । भारतको ओडिसास्थित बादलिया गाउँकी ६५ वर्षीया मन्द सोरेनले राम्रो लालनपाला र शिक्षा दिक्षाका लागि दिने सर्तमा बच्चाबच्ची नभएको एक जोडिलाई नाति जिम्मा लगाएकी हुन् । बुहारीको मृत्यु र छोरा वेपत्ता भएपछि हेरचाह गर्न धौधौ भएको थियो ।
इन्डिया टुडेका अनुसार वृद्धाले २०० रूपैयाँ लिएर आफ्नो नाती एउटा जोडीको जिम्मा लगाएकी थिइन्। गाउँलेहरूले थाहा पाएर प्रहरीलाई खबर गरिदिएपछि प्रहरीले बालकको उद्धार गरेर बाल हेरचाह गृह पठाएको थियो।
त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट वृद्धाले पैसाकै लागि नाती नबेचेको खुलेको छ।
इन्डिया टुडेका अनुसार ती वृद्धाका घरजग्गा छैन। श्रीमान वर्षौंअघि बितिसकेका थिए भने छोरा बेपत्ता छन्। बुहारी पनि कोरोनाकालमा बितेकी थिइन्। उनले राज्यबाट पनि अहिलेसम्म कुनै सहायता नपाएको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आफू वृद्धा भइसकेको, स्वास्थ्य अवस्था पनि दैनिक खस्किँदै गएपछि उडिसाकै रायपाल गाउँमा रहेकी बहिनीकोमा बस्न थालेकी थिइन्।
सोही गाउँमा उनले एउटा अपिरिचित जोडीलाई नातीको जिम्मा लगाएकी थिइन्। त्यो जोडीसँग वृद्धाले केही पैसा पनि लिएकी थिइन्।
नातीको गाँस, बास, कपासको मात्रै होइन पढाइदिने ज्ञारेन्टी भएपछि वृद्धाले बालकलाई एउटा जोडीको जिम्मा लगाएको भनेर इन्डिया टुडेले लेखेको छ।