एकै दिन दुई युवतीसँग बिहे गरेर बेहुला फरार

मंगलबार, १२ चैत्र २०८१

काठमाडौँ – एउटै लगनमा दुई युवतीसँग बिहे गरेका बेहुला फरार भएका छन् । भारतको उत्तर प्रदेशस्थित गोरखपुरका युवा बहुविवाह गरेको उजुरीपछि फरार भएका हुन् ।

बिहान प्रेमिकासँग ‘कोर्ट म्यारिज’ गरेका उनले बेलुका घर–परिवारले खोजेकी युवतीसँग धार्मिक परम्पराअनुसार विवाह गरेका थिए । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा उक्त घटना भएको हो । हरपुर बुदहट क्षेत्रमा एक युवकले एकै दिन दुई युवतीसँग अलगअलग विवाह गरेका हुन् ।

बिहान ‘कोर्ट म्यारिज’ गरेकी प्रेमिकाले यसबारे थाहा पाएपछि युवकको घरमै पुगेर आफूहरूको विवाह भइसकेको जानकारी गराएकी थिइन् । युवकका परिवारले ती युवतीलाई गालीगलौज गरेर त्यहाँबाट लखेटेका थिए ।

त्यसपछि ती युवती प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराइन् । प्रेमिकाका अनुसार उनीहरूबिच चार वर्षअघि चिनजान भएको हो । बिस्तारै आपसमा प्रेम सम्बन्ध बनेको र मन्दिरमा विवाहसमेत गरिसकेको ती युवतीको दाबी छ ।

त्यसपछि ‘लिभ इन’ मा आफूहरू रहेको र यसबिचमा दुई पटक गर्भ बसेको तर प्रेमीकै आग्रहमा गर्भपात गराएको उनको जिकिर छ ।

प्रेमीको परिवारले उसको विवाह अन्यत्र गरिदिन खोजेपछि ‘कोर्ट म्यारिज’ गरेको ती युवतीले बताएकी छन् । तर कोर्ट म्यारिज गरेकै रात युवकले घर–परिवारको सल्लाहमा अर्को केटीसँग विवाह गरेको आरोप उनले लगाएकी छन् ।