शंकर कार्कीको ठगी धन्दा, अदालतमा सेटिङ मिलाइदिन्छु भन्दै रकम असुल्दै

बुधबार, १३ चैत्र २०८१

काठमाडौँ – काठमाडौं जिल्ला अदालत वरपर सेटिङ मिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । अदालतमा तामेल भएका वा धरौटीमा कारागार चलान भएका व्यक्तिहरूसँग ठगी गर्ने समूह सक्रिय रहेको जनगुनासो आएको छ ।

पीडितहरुका अनुसार शंकर कार्की नामक व्यक्तिको नेतृत्वमा रहेको गिरोहले मुद्दा खेपिरहेका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने गरेको छ । अदालतका कर्मचारीहरूलाई झुक्याउँदै, फकाउँदै, रकम बुझाउँने भन्दै उनले काम गराइदिन्छु भनेर ठग्ने गरेको पीडितहरूको गुनासो छ ।

शंकर कार्कीले विभिन्न व्यक्तीहरूसँग मिलेर गिरोह नै सञ्चालन गर्ने गरेका छन् । मुख्यतः कारागार चलान भएका वा धरौटी बुझाउनुपर्ने व्यक्तिहरूसँग सम्पर्क गर्दै प्रतिव्यक्ति २ लाखदेखि ५ लाखसम्म पैसा असुल्ने गरेका छन् । उनले पैसा आफ्नो श्रीमतीको खातामा मगाउने, पैसा लिएपछि काम नगरि सम्पर्क बिहिन हुने, धरौटीको रकम अपुग छ भन्दै जग्गा राख्न लगाउने र एउटै लालपुर्जाबाट विभिन्न व्यक्तिहरूको धरौटी बुझाउने गरेको पाइएको छ ।

कार्कीको गिरोहको ठगीका कारण कयौं व्यक्ति आर्थिक शोषणमा परेको गुनासो गरेका छन् । पीडितहरूमध्ये धेरैजसो न्यायको खोजीमा रहेका सर्वसाधारण छन् । अदालतमा मुद्दा परेका व्यक्तिहरूलाई झुक्याएर रकम असुली गर्ने, काम नभएपछि सम्पर्क विहिन हुने, धम्की दिने वा बेवास्ता गर्ने गरेका छन् ।

यस्ता ठगीका घटना दोहोरिरहँदा पनि सरकारी निकायले प्रभावकारी कारबाही नगरेको पीडितहरूको आरोप छ । पीडितहरूले प्रहरी प्रशासन र अदालत प्रशासनमा गुनासो गर्दै आएका छन् । तर, हालसम्म कुनै कारबाही भएको देखिँदैन । अदालतभित्रै यस्ता ठगीका गिरोहहरू सक्रिय हुँदा न्यायालयको साखमाथि प्रश्नचिन्ह खडा भएको छ ।

यता कार्कीले आफूलाई पनि अरु कसैले ठगेको बताएका छन् । ‘अहिलेलाई समाचार नलेख्नुहोस् । मेरो कुरा पनि सुन्नुहोस् ।’, सामाजिक संजालमार्फत सम्पर्कमा आएका कार्कीले भने, ‘म तपाईँलाई यस्ता ठगी गिरोहको नाम दिन्छु ।’ उनले पीडित भनिएका व्यक्तिले पनि आफूलाई पैसा नदिएको बताए ।

उनलाई पैसा बुझाएको प्रमाण पठाउँदा त्यसमा आफ्नो नाम नपरेको बताए । ‘यो स्कृनसर्टमा मेरो नाम कहाँ छ । उहाँले अरु कसैलाई पैसा पठाउनु भएको हो । मैले सहजिकरणको काम मात्र गरेको हो ।’, उनले भने, ‘म उहाँको काम गर्न नसकेकामेमा निकै लज्जित छु । उहाँको पैसा फिर्ता गर्छु भनेकै छु ।’