सापटी लिएको पैसा फिर्ता माग्ने व्यक्ति खाल्डोमा गाडिए
सुरुवाती क्रममा प्रहरीले उक्त वर्कसपमा केही पनि फेला पारेन् । सामान्य सोधपुछ मात्रै भयो । पछि फेरि शंका लागेर वर्कसपमै पुगेर प्रहरीले १५ चैतमा अनुसन्धान अघि बढायो । सो क्रममा वर्कसप भित्रैकै पछाडितर्फको जमिनको माटो शंकास्पद देखिएपछि प्रहरीले उत्खनन गर्यो । नभन्दै ४ दिनदेखि हराइरहेका राहुलको शव प्रहरीले खाल्डोबाट निकाल्यो ।
‘हत्या गरेपछि शव व्यवस्थापन गर्न बाहिर लैजान गाह्रो भएपछि वर्कसपभित्रै खाल्डो खनेर गाडेको अवस्थामा राहुलको शव भेटिएको हो,’ वृत्त बौद्धका एक अनुसन्धान अधिकृतले बताएका छन् ।
मोटरसाइकल वर्कसपमा राहुलको शव भेटिएपछि प्रहरीले हत्या आरोपमा ६ जनालाई पक्राउ परेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा मोटरसाइकल वर्कसप सञ्चालक निपु मण्डल, भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–६ घर भएका १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करनकुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र चक्रघट्टा–१ का ४५ वर्षीय उत्तम मण्डल छन् ।
पक्राउ परेका ६ जना विरुद्ध काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मृतक राहुल जोरपाटीको भेनस पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । उनले वर्कसप सञ्चालन गरेका निपुलाई १ लाख १० हजार रुपैयाँ सापटी दिएको प्रहरीको दाबी छ । हत्या भएको दिन राहुल त्यही पैसा फिर्ता माग्न भन्दै गएको परिवारले बताएका छन् ।