तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोले
काठमाडौँ – तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । ज्ञानेन्द्रका संवाद सचिव डा. फणिराज पाठकले राजावादी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी निर्मल निवासले नलिने बताएका छन् ।
दुई जनाको ज्यान जाने गरी भएको घटनाको जिम्मा पूर्वराजाले नलिएपछि राजावादी आन्दोलन ओझेलमा परेको छ । हिंसात्मक भड्काएर आफ्नै जनकमाण्डर फरार भएपछि ज्ञानेन्द्र थप शंकटमा परेका छन् ।
राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाएका थिए । थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।
तर उक्त हिंसाको अघिल्लो दिन पूर्वराजा शाहले दुर्गा प्रसाईंलाई निर्मल निवासमै बोलाएर निर्देशन दिएको भन्ने आरोपमा भने उनले आफूलाई थाहा नभएको बताए । त्यस हिंसात्मक आन्दोलनका क्रममा फोहोर तथा तोडफोड गरेको भन्दै काठमाडौं महानगरपालिकाले त्यसको प्रमुख जिम्मेवार पूर्वराजा शाह नै भएको ठहर गर्दै जरिवाना नै तोकेको छ । विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रूपैयाँ जरिवाना ज्ञानेन्द्र शाहको नाममा बालेनले जरिवाना पत्र काटेका थिए।
तर उक्त पत्र निर्मल निवासले बुझ्न नमानेपछि हुलाकमार्फत निर्मल निवासलाई पत्र पठाइएको छ ।
यस विषयमा ज्ञानेन्द्रका संवाद सचिव डा. फणिराज पाठकले भने, ‘उहाँले जिम्मेवारी लिइबक्सन्न। जुन समितिले कार्यक्रम गरेको छ, जरिवाना उसैसँग लिनपर्यो। यत्ति कुरा त मेयरजस्तो मान्छेले नबुझ्या होला जस्तो लाग्दैन ।’