कर्मचारी र नगरप्रहरी भिडाएर मेयर बालेन शाह मोजमस्तीमा

बिहिबार, २१ चैत्र २०८१

काठमाडौं – कार्यालयमा कर्मचारी र नगरप्रहरी भिडाएर काठमाडौँका मेयर बालेन शाह मोजमस्तीमा मा व्यस्त रहेको खुलेको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा घम्साघम्सी भइरहँदा बालेन पाँचखालको एउटा रेस्टुरेन्टमा रसपान गर्दै थिए ।

उक्त रेस्टुरेन्टकी सञ्चालकले बालेनसँग खिचेको तस्बिर सार्वजनिक गरेपछि यस्तो रहस्य खुलेको हो । महानगर स्रोतका अनुसार बालेन आफ्नो केही सहयोगी लिएर हिजो नै काभ्रे पुगेका थिए । आज काठमाडौं महानगरपालिकाभित्र कर्मचारी र नगरप्रहरीबीच घम्साघम्सीको अप्रिय अवस्था सिर्जना भयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई हाजिर गराउने क्रममा नगर प्रहरीले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रमुख प्रशासकीय अधिकृतको विवादमा महानगरका जनप्रतिनिधि र कर्मचारी एकातर्फ तथा नगरप्रहरी अर्कोतर्फ देखिए । यद्यपि, नगर प्रहरीले मेयर बालेनको आज्ञापालन गरेका मात्र हुन् । बालेनकै निर्देशनमा गुरागाईंको कार्यकक्षमा ताला लगाउनेदेखि गाडीमा ह्वील लक गर्नेसम्मका काम भएका थिए ।

महानगरमा यसरी बबण्डर भइरहँदा मेयर साह भने दृष्यमै देखिएनन् । उनको अनुपस्थितिमा उपमेयर सुनिता डंगोलले अनौपचारिक बैठक राखेकी थिइन् । सञ्चारकर्मीले मेयरको खोजी गरे पनि सचिवालयले केही बताएन ।

खासमा मेयर साह त्यसबेला महानगरको कार्यालयमै थिएनन् । उनी काभ्रेको पाँचखालमा रहेको खुलेको छ । यता महानगरका नगरप्रहरी र कर्मचारीबीच घम्साघम्सी भइरहँदा मेयर बालेन पाँचखालको एउटा रेस्टुरेन्टमा लस्सी खाइरहेका थिए । उक्त रेस्टुरेन्टकी सञ्चालकले बालेनसँग खिचेको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आज बालेन साहसँगको भेट, पाँचखाल केराघारी एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा ।’