बालेन शाहको कमजोरीमाथि उपमेयर सुनिता डंगोलको प्रहार
काठमाडौँ – काठमाडौँका मेयर बालेन शाहको कमजोरीमाथि उपमेयर सुनिता डंगोलले प्रहार गरेकी छिन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईलाई हाजिर गर्न नदिई ताला ठोकेर भागेका बालेनले नगरप्रहरीलाई रोक्न निर्देशन दिएका थिए ।
सुनिताले नगरप्रहरीसँग कार्यकारीलाई रोक्न दिएको पत्र मागेपछि प्रहरी प्रमुख राजुनाथ पाण्डे हच्किएका थिए । पत्र नहुँदा डंगोल गुरागाँईलाई हाजिर गराउन सफल भएकी छिन्।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईँको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए ।
लगत्तै अहिले उपमेयर सुनिता डंगोलसहितको बैठक बसेको थियो । बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन चेतावनी दिइन् ।
‘यो तमासा हामीले हेर्नुपर्ने? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौँ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’