रवीन्द्र मिश्र र धवल शम्शेर राणालाई सरकारको मेजमानी सुविधा
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई सरकारले प्रहरी हिरासतमा मेजमानी सुविधा दिएको छ । चैत १५ गतेदेखि काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेका उनीहरुलाई छुट्टै कोठामा राखिएको छ भने खानपीनको प्रवन्ध पनि राम्रै गरिएको छ ।
अरु बन्दीहरुलाई मेसमा खानाखाने व्यवस्था गरिएको भएपनि उनीहरुलाई छुट्टै खानाको व्यवस्था गरिएको छ भने फलफूलदेखि काजु बदामसम्मको सुविधा छ । केही दिनअघि छुट्टाछुटुटै रहेको उनीहरुलाई अहिले एउटै कोठामा राखिएको छ ।
वरिष्ठ उपाध्यक्ष मिश्रलाई पहिलादेखि अरू थुनुवाहरूसँगै राखिएको थियो भने सांसदसमेत रहेका महामन्त्री राणालाई भने बेग्लै कोठामा राखिएको थियो।मिश्रले आफूलाई राखिएको कोठामा हो–हल्ला भएकाले निदाउन गाह्रो परेको गुनासो गरेपछि उनलाई महामन्त्री राणासँगै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए। ु
राणा र मिश्रलाई राज्य विरूद्धको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनीहरूलाई चैत २० गते जिल्ला अदालत काठमाडौंबाट दोस्रो पटक ७ दिनको लागि म्याद थप गरिएको थियो। मिश्र र राणासहित ६७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको हो।
चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो। उक्त घटनामा २ जनाको ज्यान गएको थियो । हिंसा भट्काउन भूमिका खेलेको आरोपमा मिश्र र राणामाथि अनुसन्धान भइरहेको छ ।