कोशी प्रदेशमै मुसहर समुदायबाट कानून पढ्ने एक्ली विद्यार्थी कविता
काठमाडौँ – सुनसरीको इटहरी–१७ मा जन्मेकी कविता मुसहर कोशीमा मुसहर समुदायको पहिलो कानून विद्यार्थी बन्न सफल भएकी छन् ।
मुसहर समुदाय नेपालका अत्यन्तै पछाडि पारिएका जातिहरूमध्ये एक हो । जहाँ शिक्षाको अवस्था अत्यन्त कमजोर छ । यो समुदायमा विद्यालय जाने बालबालिकाको संख्या निकै कम छ भने उच्च शिक्षा हासिल गर्नेहरू त झन् बिरलै पाइन्छन् ।
यस्तै पृष्ठभूमिबाट आएकी कविताले आफ्नै संघर्ष, परिवारको दुःख, समाजको सीमिततासँग जुध्दै आफ्नो बाटो कोरिरहेकी छन् । उनको यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, बरु यो सम्पूर्ण समुदायका लागि शिक्षा र समानताका सम्भावनाहरूको प्रतीक हो।
कविताले आफ्नो अध्ययन इटहरी–१७ स्थित जनजागृति माध्यमिक विद्यालयबाट शुरू गरिन्। कक्षा १ देखि ३ सम्म त्यहीँ अध्ययन गरिन् । तर, विद्यालयमा पढाइको स्तर कमजोर भएकाले उनका अभिभावकले उनलाई इटहरी–१६ स्थित सरस्वती जब्दी माध्यमिक विद्यालयमा सार्ने निर्णय गरे। नयाँ विद्यालयमा उनको अनुभव राम्रो रह्यो। उनले त्यहाँ कक्षा १० सम्म अध्ययन गरिन् ।
विद्यालय जीवनमा प्रवेश गरेदेखि नै कविता बाल अधिकार र शिक्षा प्रवर्द्धनका गतिविधिमा संलग्न रहिन् । उनले बाल क्लबको नेतृत्व सम्हाल्दै समुदायका अन्य बालबालिकालाई विद्यालय जान प्रेरित गरिन् । समुदायका धेरै बालबालिकाले गरिबीका कारण विद्यालय जान छाड्ने गर्थे । कोहीसँग कापी–कलम किन्ने पैसा हुँदैनथ्यो भने कोहीलाई पढाइ त्यति महत्त्वपूर्ण लाग्दैनथ्यो ।
यस्ता बालबालिकाका लागि उनले आफ्ना साथीहरूसँग मिलेर बाल क्लबमार्फत् सानो बचत अभियान चलाइन् । प्रत्येक महिना पाँच रूपैयाँ बचत गर्ने अभ्यास शुरू गरिएको थियो, जुन पछि २०–२५ रूपैयाँसम्म पुग्यो । यस रकमलाई शिक्षा अभियानका लागि खर्च गर्ने गरिन्थ्यो ।
बाल क्लबले विद्यालय नगएका बालबालिकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्थ्यो । ‘केही बालबालिकाले आर्थिक अभावकै कारण विद्यालय जान छाडेका थिए’, उनले भनिन्, ‘त्यसैले संकलित रकमबाट कापी–कलम किनेर वितरण गर्ने गरेका थियौं । काम सानो देखिए पनि यो अभ्यासको प्रभाव ठूलो थियो । शिक्षा आर्जन गर्ने प्रेरणा दिनु बाल क्लबको मुख्य उद्देश्य थियो ।’
मुसहर समुदायमा अधिकांश बालबालिका विद्यालय जान मान्दैनन् । विद्यालय जानेहरूले पनि ७–८ कक्षापछि पढाइ छाडिदिन्छन् । गरिबी र शिक्षाको अभावका कारण छोराछोरीलाई पढाउनेभन्दा सानै उमेरमा काममा लगाउने प्रवृत्ति रहेको उनी बताउँछिन् । अभिभावकहरू स्वयं शिक्षित नहुँदा उनीहरूका लागि शिक्षा गौण विषय बन्ने गरेको कविताको भनाइ छ ।
कविता भन्छिन्, ‘हाम्रो समुदायमा बेलुका खायो भने बिहान के खाने भन्ने सोच्नुपर्ने अवस्था छ । यस्तो अवस्थाले गर्दा अभिभावकहरू छोराछोरीलाई पढाउनेभन्दा कमाउन पठाउन बढी रुचाउँछन् ।’
उनकै सहपाठीहरूमध्ये कक्षा १० सम्म आइपुग्दा जम्मा तीनजना मात्र थिए । कक्षा ११ मा दुईजना मात्र बाँकी रहे भने कक्षा १२ मा उनी एक्लै भइन् । १२ कक्षा पास गरेपछि उनले उच्च शिक्षा लिने निर्णय गरिन् । तर, मुसहर समुदायबाट उच्च शिक्षामा जाने कोही नभएकाले उनलाई थप चुनौतीको सामना गर्नुपर्यो ।
१२ कक्षा पास गरेपछि कविताले कानून अध्ययन गर्ने निर्णय गरिन् । मुसहर समुदायमा कानून पढ्ने कोही थिएन । इटहरी क्षेत्रमा उनी नै पहिलो कानून विद्यार्थी बनिन् । कोशी प्रदेशमै मुसहर समुदायबाट कानून अध्ययन गर्ने आफू पहिलो व्यक्ति रहेको उनको दाबी छ । मधेश प्रदेशमा भने जनकपुरका विवेक मुसहर कानून अध्ययन गरिरहेका छन् ।
‘हाम्रो समुदायमा धेरै अन्याय र विभेद छन् । सरकारी सेवा–सुविधाहरू हामीसम्म आइपुग्दैन । कानूनी ज्ञान भएकाले मात्र आफ्नो हक र अधिकारको लडाइँ लड्न सक्छन्’, कविता भन्छिन्, ‘सरकारले दलित समुदायका लागि भनेर बजेट छुट्याउँछ । निःशुल्क शिक्षादेखि अन्य सहुलियतसम्मका घोषणा गरिन्छ । तर, वास्तविकतामा यी सुविधाहरू समुदायको पहुँचसम्म पुग्दैनन् ।’
दलित समुदायका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाइ हुन्छ भने पनि वास्तविकतामा यस्तो नरहेको उनी बताउँछिन् । बजेट छुट्याइए पनि कागजमै सीमित हुने गरेको उनी बताउँछिन् ।
उनले इटहरी–११ स्थित मुसहर समुदायको बस्तीमा गएर सर्वेक्षण गरिन् । ‘अधिकांश परिवार सुकुम्बासी थिए । जसले गर्दा उनीहरूसँग नागरिकता थिएन । नागरिकता नहुँदा सरकारी सुविधाबाट वञ्चित हुने अवस्था हुन्छ । तर, हाम्रो समुदायमा नागरिकता बनाउनुपर्छ भन्ने नै धेरैलाई थाहा छैन’,उनले भनिन् ।
सरकारी निकायले दलित समुदायका लागि भनेर विभिन्न कार्यक्रम आयोजना गर्छन् । तर, यस्ता कार्यक्रम शहरका ठूला होटलमा मात्र हुने गरेको कविताको गुनासो छ ।
‘हाम्रो समुदायका मान्छे ठूला होटलमा आउँदैनन् । लक्षित समुदाय नै नआउने ठाउँमा कार्यक्रम गर्नुको के अर्थरु’ उनको प्रश्न छ ।
आफूले होटलमा हुने कार्यक्रममा यस्ता प्रश्न उठाउने गरेको कविता सुनाउँछिन् । धेरै मान्छेको उपस्थिति चाहियो भने मात्रै मुसहर बस्तीमा पुग्ने खराब प्रवृत्ति रहेको र यसलाई हटाउन लाग्ने उनको अठोट छ । कविताका बुवा विद्या भारतमा मजदुरी गर्छन् । पहिला उनी रात्रिबसको चालक थिए । आमा बिनाले घरमै घरेलु कामकाज गर्दै छोराछोरी हुर्काइन् । आर्थिक अभावका कारण उनका आमाबुवाले धेरै दुःख सहे ।
‘ममी भन्नुहुन्छ, तिमीहरूलाई हुर्काउन महिनौंसम्म बासी खाना खानुर्यो । एक छाक टार्नका लागि दिनभरी बुवाआमाले अर्काकोमा काम गर्नुभयो’, कविता भन्छिन् ।
बुवाको प्रेरणाले गर्दा कविता अध्ययनमा निरन्तर लागिरहिन् । उनका दिदीबहिनीहरूमध्ये जेठी चन्द्रकला १० कक्षा पास गरेकी छिन् भने माइली सोविया ८ कक्षा पास गरी सिलाई–बुनाइको काम गरिरहेकी छिन् । चन्द्रकलाले शिक्षक बन्ने तयारी गरिरहेकी छिन् ।
कविताले कानूनको अध्ययन पूरा गरी कानूनी क्षेत्रमा सक्रिय रहने योजना बनाएकी छन् । उनको लक्ष्य आफ्नै समुदायको अधिकारका लागि काम गर्ने हो।
‘मुसहर समुदायका बालबालिकाले पढ्न पाउने वातावरण बनाउन म निरन्तर लागिरहन्छु । शिक्षा नै हाम्रो समुदायको मुख्य समस्या हो’, कविताले भनिन् ।
कविता अहिले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीको निजी सचिवालयमा काम गर्छिन् । ‘आफ्नो समुदायको पीडा मैले मन्त्रीज्यूलाई भन्ने गरेकी छु’, उनले भनिन् ‘मन्त्रीज्यूले पनि अब समुदायको शैक्षिक र आर्थिक अवस्था सुधार्ने खालका कार्यक्रम ल्याउने र त्यस्ता कार्यक्रम के-के हुन्छन् अध्ययन गर्न भन्नु भएको छ ।’
(यो सामाग्री लोकान्तर डट्कमका लागि लोकान्तर कोशी प्रदेश प्रतिनिधि उत्तम पोखरेलले तयार पार्नुभएको हो । हामीले लोकान्तरबाट साभार गरेका हौँ ।)