पूर्वराजा ज्ञानेन्द्र शाहप्रति एमाले बन्यो झन् आक्रामक

सोमबार, १ बैशाख २०८२

काठमाडौँ – नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति झन् आक्रामक भएको छ । एमालेले चैत १५ गते तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने निश्कर्ष निकालेको छ । पूर्वराजाले फागुन ७ गते म अगाडि बढेँ, मलाई साथ दिनुस् भनिसकेपछि र कमाण्डर तोकिसकेपछि जिम्मेवारी लिनुपर्ने एमालेको तर्क छ ।

सोमबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजाले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेपनि जिम्मेवारी नलिएको बताए।

पूर्वराजामा अझै पनि उक्त घटनाबारे पश्चाताप नदेखिएको एमालेको तर्क छ । चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा २ जनाको मृत्यु हुनुका साथै तोडफोड, आगजनी र लुटपाटको घटना भएका थिए ।

उक्त घटनाबारे नयाँ वर्षको अवसरमा उनले दिएको शुभकामनामा दुःखमात्रै व्यक्त गरिएको भन्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।