सर्वोच्च अदालतको प्रश्न, छविलाल जोशीलाई किन थुनेको

मंगलबार, २ बैशाख २०८२

काठमाडौँ – रवि लामिछानेका पार्टनर छविलाल जोशीलाई किन थुनेको भनेर सर्वोच्च अदालतले प्रश्न गरेको छ । सहकारी ठगी प्रकरणमा सर्वोच्चले पूर्वडीआईजी जोशीलाई किन थुनामा पठाएको भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासलाई प्रश्न सोधेको हो ।

उच्च अदालतले चैत २२ गते जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसपछि जोशीले चैत ३१ गते बेरितको आदेश बदर गरी पाउँ भन्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै सुप्रिम सहकारीको ठगी मुद्दामा के भएको हो र त्यसको आदेश हुँदा के कस्ता आधारहरू लिइएको भनेर खुलाउन सर्वोच्चले आदेश दिएको हो ।

यसअघि चैत ३१ गते नै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार कारण माग गरेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो । जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।