अमेरिकाबाट १०० जना नेपाली निष्कासित

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं – अमेरिकाबाट १०० जना नेपाली  निष्कासित भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रंपले अवैधानिक रूपमा बसेका आप्रवासीलाई देशबाट लखेट्न दिएको निर्देशन दिएपछि सय जना नेपाली अमेरिकाबाट निस्काशित भएका हुन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१ सुरु भएपछि कात्तिक महिनामा ३, मंसिरमा १३, पुसमा ६, माघमा २५, फागुनमा २३ र चैतमा ३० जना गरि सय जना निस्कासनमा परेका छन्।

आव २०७५ को साउनदेखि २०८१ को असारसम्म अमेरिकाबाट नेपाल डिपोर्ट हुने नेपालीको संख्या १ सय ९९ रहेको थियो। मानव बेचबिखन नियन्त्रण ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार डिपोर्ट भएर आउनेहरू प्रायः सबैजना अवैध बाटो हुँदै अमेरिका पुगेका हुन्। केही भने वैध रूपमै पुगेका पनि निष्कासनमा पर्न थालेका छन्।

ब्युरोका मुद्दा शाखा प्रमुख डीएसपी ज्ञानबहादुर विष्टका अनुसार अवैध बाटो हुँदै अमेरिका जाने क्रममा नेपालीहरूले ५० लाखदेखि एक करोड रुपैयाँ खर्च गरेका हुन्छन्। ठूलो रकम खर्च भइसकेको हुँदा उनीहरूले प्रहरीमा उजुरी गर्न चाहँदैनन्। उनीहरूलाई लैजाने गाउँकै आफन्त, छरछिमेक तथा नजिकका मान्छे हुने हुँदा पनि नेपालमा आएर आफैं मिलाउने भन्दै उजुरी दिन मान्दैनन्।

प्रहरीका अनुसार, उजुरी गर्दा कानुनी कारबाहीको लागि हुने झमेला र लामो प्रक्रियाले गर्दा पनि उनीहरू अल्झन चाहँदैनन्। डिपोर्ट भएर फर्किएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोले अनुसन्धान गर्ने गरेको छ। तर, उनीहरू केही पनि बोल्न नचाहने र उजुरी पनि नगर्ने भन्दै उम्कने गर्छन्।