शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौं – शिक्षकहरू आन्दोलनमा रहेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको जनाएको हो ।

परीक्षाको तयारीमा लाग्न बोर्डले पटक–पटक अनुरोध गरे पनि शिक्षक तयार नभएकाले परीक्षा स्थगित गर्नुपरेको पत्रमा उल्लेख छ ।

‘शिक्षक वर्गले शिक्षा विधेयकलाई यथाशीघ्र ऐनको रूपमा पारित गरियोस् भन्ने मागसहित सरकारसामु आन्दोलन गरिरहनुभएको छ’, पत्रमा लेखिएको छ ‘यस परिस्थितिमा शिक्षक वर्गको प्रत्यक्ष सहभागिताबिना परीक्षाको निष्पक्ष, व्यवस्थित र प्रभावकारी सञ्चालन सम्भव नहुने देखिएकाले आगामी २०८२ साल वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा हाललाई अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ ।’