आशिका तामाङको फण्डाले हावा खायो
काठमाडौँ – आशिका तामाङको फण्डाले हावा खाएको छ । शनिबार एक सरकारी कर्मचारीसँग पास मागेर उल्लु भएपछि उनको भाइरल फोवियाले हावा खाएको छ ।
शनिबार उनको आफ्नै फेसबुकबाट अपलोड भएको भिडियो भाइरलसँगै विवादित बनेपछि उक्त भिडिओ हटाएकी छिन् । समाजमा अराजकता मच्चाउँदै आएकी उनलाई दुव्र्यवहार मुद्धामा पक्राउ गरेर कारवाही गर्नु कानुन व्यवसायीहरुले माग गरेका छन् ।
भिडिओ अनुसार ट्राफिक जाममा रोकिएका सरकारी मोटरसाइकल चलाइरहेका एक कर्मचारीलाई तामाङले नमस्ते गर्दै सोध्छिन्, “आज शनिबार होइन ?” प्रत्युत्तरमा कर्मचारीले शनिबार भए पनि अफिसमा काम रहेको बताउँछन् ।
त्यसपछि तामाङले ‘पास छ ? ’ भनी प्रश्न गर्छिन् । कर्मचारीले ‘पास छ । पास बिनै कोही सरकारी गाडी चलाउँछ र ?’ भनी जवाफ दिँदै जङ्गिन्छन् । तामाङले फेरि पास देखाउन आग्रह गर्छिन् । त्यसपछि ती कर्मचारीले नजिकै रहेका ट्राफिक प्रहरीलाई देखाउँदै ‘प्रहरीलाई बोलाउनुस्, म उहाँलाई नै देखाउँछु । तपाईंलाई किन देखाउने ?’ भन्छन् ।
तामाङले छेउमा रहेका अर्का एक व्यक्तिलाई सरकारी मोटरसाइकल चढ्ने व्यक्तिलाई हेर्न भन्दै ट्राफिक प्रहरी बोलाउँछिन् । ट्राफिक प्रहरी आएर ती कर्मचारीले देखाएको पास हेर्छन् र सही रहेको पुष्टि गर्छन् । त्यसपछि तामाङले प्रहरीले हेरेको पास आफैंले लिन खोज्दा कर्मचारीले ‘तपाईं पास हेर्ने आधिकारिक व्यक्ति वा निकाय होइन । अथोरिटी उहाँ (ट्राफिक प्रहरी)हो,’ भन्दै दिन अस्वीकार गर्छन् । भिडिओमा कर्मचारीले ‘जहाँ पनि स्टन्ट मच्चाएको छ’ भन्दै तामाङलाई आरोप लगाएको पनि सुनिन्छ ।
तामाङले यो सम्पूर्ण कुराकानी गोप्य क्यामेराबाट खिचेको र ‘सरकारी कर्मचारीको व्यवहार हेर्नुस्’ भन्दै शनिबार दिउँसो अपलोड गरेकी थिइन् । यो भिडिओ अपलोड भएको छोटो समयमै विभिन्न सामाजिक सञ्जालमा फैलिँदै भाइरल भएको थियो ।
तामाङले राखेको सो भिडिओमा अधिकांश टिप्पणीले उनको कार्यशैलीको आलोचना गरेका थिए । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले तामाङको गल्ती भएको आशय व्यक्त गरेका थिए । यद्यपि, केहीले जनताको करबाट सञ्चालित सरकारी साधन सदुपयोग वा दुरुपयोग भइरहेको छ कि छैन भनी जाँच्ने अधिकार आम नागरिकमा रहेको भन्दै तामाङको कार्यको समर्थन पनि गरेका थिए । अर्को पक्षले भने तामाङले पब्लिसिटीका लागि स्टन्ट गरेको र सरकारी कर्मचारीलाई अनावश्यक दुःख दिएको टिप्पणी गरेका थिए ।
आइतबार दिउँसोसम्म तामाङको १६ लाख बढी फलोअर भएको आधिकारिक फेसबुक पेजबाट उक्त भिडिओ हटिसकेको छ । तामाङले आफ्नो पेजबाट भिडिओ हटाउनुको कारणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । यद्यपि, उक्त भिडिओ अन्य धेरै फेसबुक पेज, टिकटक, एक्स र इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अहिले पनि उपलब्ध छ र चर्चा भइरहेको छ ।
सामाजिक सञ्जाल एक्समा आशिका तामाङको नामबाट खोलिएको अकाउन्टबाट पनि उक्त भिडिओ राखिएको थियो । एक्समा भने उक्त भिडिओ यथावत छ । सो भिडिओ कोट गर्दै धेरैले तामाङको शैली अराजक भएको टिप्पणी गरेका छन् ।