कांग्रेसमा उजुरीको पोको खोलियो, कारबाही गर्न अनुशासन समिति हच्कियो

बिहिबार, ९ जेष्ठ २०७६

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा देशभरबाट परेका १२ सय उजुरी उपर कारबाहीको कुनै संकेत देखिएको छैन । पार्टीबाटै आएका विभिन्न दबाबका कारण उजुरीमाथि छानबिन गरी कारबाही गर्न अनुशासन समिति हच्किएको स्रोतको दाबी छ । पार्टीले बनाएको अनुशासन समितिमा देशभरबाट १२ सयको हाराहारीमा उजुरी परेको भए पनि विभिन्न दबाब तथा कस्ता उजुरी उपर के गर्ने भन्ने नियमावली नहुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको राजधानी दैनिकमा खबर छ ।

कांग्रेसले गत चैत मसान्तसम्म समितिमा उजुरी गर्न भन्दै म्याद दिएको थियो । यसबीचमा समितिमा पुराना र नयाँ आएका गरी १२ सय उजुरी जम्मा भएको छ । यसबीचमा समितिको औपचारिक बैठकसमेत पाँचपटक बसिसकेको छ । तर, बैठकले प्राप्त उजुरीको पोको खोल्ने, अध्ययन गर्ने र उजुरीको प्रकृति छुट्याउने मात्रै काम गरेको छ ।

समितिका एक सदस्यले समितिको बैठक पाँचपटक बसेको र उजुरीको पोको खोल्ने र अध्ययन गर्नेबाहेक बैठकले अरू काम नगरेको जानकारी दिए ।

‘यसबीचमा बैठक त पाँचपटक भयो तर आएका उजुरी खोल्ने र हेर्नेबाहेक अरू काम भएको छैन,’ समितिका ती सदस्यले भने । उनले समितिले कस्ता उजुरीउपर के कारबाही गर्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय नगरेको जानकारी दिए ।

समितिका अर्का सदस्य उमाकान्त चौधरीले हालसम्म उम्मेदवार आफैंले दिएको उजुरी, निर्वाचन समितिमार्फत आएका उजुरी, जिल्ला, क्षेत्र र इकाइ समिति हुँदै आएका उजुरीलाई छुट्याइएको बताए ।

उनले केही उजुरी प्रमाणसहित आएको र केही आरोप लगाउने नियतबाट समेत आएको भन्दै प्रमाण पुगेर आएका उजुरीउपर कारबाही हुने तर हचुवाका भरमा आएका उजुरी कारबाहीको दायरामा नआउने जनाए ।

‘प्रमाण पुगेर आएका उजुरीउपर कारबाही प्रक्रिया अघि बढ्छ, बिनाप्रमाण आक्षेप लगाइएका उजुरीमा केही हुँदैन,’ समितिका सदस्य चौधरीले राजधानीसँग भने । उनले कारबाहीको पहिलो प्रक्रिया स्वरूप सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोधिने र सफाइको मौका दिइने तर चित्त बुझ्दो जवाफ नआए अन्य कारबाही अघि बढ्ने प्रस्ट पारे ।

समितिका सदस्य सचिवसमेत रहेका कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले कारबाहीका विषयमा नियमावलीको तयारी भइरहेको जानकारी दिए ।