सरकार धरमरको चर्चापछि स्वदेश फर्किंदै देउवा
काठमाडौं – सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा अहिले उपचारका लागि थाइल्यान्डको बैंककमा छन् । परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणासहित उनी गत आइतबार बैंकक गएका हुन् । उनी एक साता लामो बसाइपछि स्वदेश फर्किने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवाको प्रतीक्षामा छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओली र देउवाका बीचमा सम्बन्ध चिसिँदै गएको छ । दोहोरो दबाबमा रहेका देउवाले पनि बैंककबाट फर्किएपछि कुरा गर्ने प्रचण्डलाई भनेका छन् । प्रचण्डले यो कुरा बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा खुलासा गरेका छन् ।
बैठकमा प्रचण्डले कांग्रेस सभापति देउवाले बैंककबाट फर्किनेबित्तिकै भेट्ने वाचा गरेको ब्रिफिङ गरेको एक सांसदले बताए । थाइल्यान्डको बैंकक जानुअघि फोन गरेर वस्तुस्थिति जानकारी गराएको उनले बताए । ‘देउवाले थाइल्यान्ड जाने बेलामा जाँदै छु भन्नुभयो, मैले शुभयात्रा भनें, थप कुरा आएरै गरौंला भन्नुभयो, मैले हुन्छ भनेको छु, उहाँ –देउवाले सरकारको गतिविधि’दयगत चिन्ता व्यक्त गर्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने ।