स्वास्थ्य जाँचका बाहानामा हाजिरी जमानीमा छुटेका धवल शमशेर फेरि राजावादी आन्दोलनमा सक्रिय

आइतबार, १४ बैशाख २०८२

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा फेरि राजावादी आन्दोलनमा सक्रिय भएका छन्। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दोषी रहेको भन्दै पक्राउ परेका उनी स्वास्थ्य उपचारका लागि भन्दै केही दिनअघि हिरासतबाट छुटेर उपचारका लागि भारत गएका थिए।

अनुसन्धान कायम रहँदै स्वास्थ्य उपचारका लागि मात्रै हिरासत छाड्ने अनुमति पाएका राणा राजावादी आन्दोलनमा सक्रिय भएका छन्। उनले समाजिक सञ्जाल फेसबुकमार्फत भोलि आयोजना गर्न लागिएको प्रदर्शनमा सहभागी हुन समेत आह्वान गरेका छन्।

‘भोलि वैशाख १५ गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरुको तत्काल रिहाई र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाईदैन भन्दै काठमाडौँको प्रदर्शनीमार्गमा हुने जनप्रदर्शनमा सहभागीताको निमित्त सम्पूर्ण हिन्दूवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्र प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन्।

राप्रपाको जनआन्दोलन परिचालन समिति संयोजक समेत रहेका राणाले देशले अहिले परिवर्तन खोजेको भन्दै सबैलाई एकजुट हुन समेत आग्रह गरेका छन्।