कस्मिरमा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकार बारे खुल्यो नयाँ तथ्य

आइतबार, १४ बैशाख २०८२

काठमाडौँ –  भारतको कस्मिर आतङ्कवादी हमलाका मुख्य योजनाकार बारे नयाँ तथ्य खुलेको छ । सन २०१८ देखि हराएका विद्यार्थी नेता आदिल हुसेन ठोकर घटना मुख्य योजनाकार रहेको दावि गर्दै प्रहरीले उनीबारे सूचना दिने व्यक्तिलाई २० लाख भारु पुरस्कार दिने घोषणा गरेको छ ।

जम्मु–कश्मीरकै अनन्तनाग जिल्लाका बासिन्दा आदिल सन् २०१८ मा पाकिस्तान गएर आतंकवादी तालिम लिएका थिए । घटनाविरुद्ध अनुसन्धान अघि बढाउने क्रममा सुरक्षा बलले आदिलको घरसमेत ध्वस्त पारिसकेको छ। खानतलासी गर्ने क्रममा भित्र राखिएका विस्फोटक पदार्थ अचानक पड्किँदा घर ध्वस्त भएको प्रहरीको दाबी छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी कुनै बेला होनहार विद्यार्थी थिए। उनले इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (आईजीएनओयू) बाट स्नातकोत्तर गरेका छन् भने जम्मु-कश्मीरको अनन्तनागस्थित सरकारी डिग्री कलेज खानबलबाट पनि स्नातक गरेका छन्। उनी विद्यार्थीहरूलाई पढाउँथे र उनलाई मास्टर भनिन्थ्यो। आदिलको परिवारले उनले पढेर आफ्नो नाम चम्काउने सपना देखेको थियो।

आदिल हुसेन दिनरात पढ्थे। उनको परिवारले सोचेको थियो(उनी एक दिन अफिसर बन्नेछन्। सबै कुरा ठिकठाक चलिरहेको थियो तर २९ अप्रिल २०१८ मा आदिल अचानक बेपत्ता भए। उनी त्यस दिन परीक्षा दिन बडगाम जाने भनी घरबाट निस्किएका थिए। तर त्यसपछि उनी फर्किएनन्।

परिवारका सदस्यले उनलाई खोजे तर फेला पार्न सकेनन्। गुप्तचर एजेन्सीहरूले आदिल पढ्नका लागि भिसामा पाकिस्तान गएको दाबी गरेका छन्। त्यहाँ उनले कट्टरपन्थी नेताहरूलाई भेटे र राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको दाबी गरिएको छ ।