हस्पिटल चार्ज तिर्न नसक्दा एक महिलाको अस्पतालमै बास
काठमाडौँ – उपचार खर्च तिर्न नसक्दा एक महिलाको अस्पतालमै बास भएको छ । पेटको शल्यक्रिया गरेकी सर्लाहीकी २४ वर्षीया रंगितादेवी मुसहरले उपचार खर्च तिर्न नसक्दा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमै बास भएको छ ।
अस्पतालमा करिब ४४ हजार र फार्मेसीमा १ लाख १४ हजार १ सय ८३ रुपैयाँ बक्यौता रहेको छ । पैसा जोहो गर्न घर गएका पति विजय एक सातादेखि फर्किएका छैनन् ।
हाल अस्पतालको सर्जरी वार्डको बेड नम्बर १५ मा रंगिता पतिको प्रतीक्षा गरेर बसेकी छिन् । ‘उहाँ एक हप्ता पहिले खर्चको जोहो गर्न भनेर जानुभएको हो,’ रंगिताले भनिन्, ‘फोन गर्दा खर्चको जोहो हुन सकेको छैन भन्नु हुन्छ ।’
रंगिताका पति विजय दैनिक ज्याला मजदुरी गर्छन् । १ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम आफूहरुको क्षमताभन्दा बाहिर रहेको उनले बताइन् । यसअघि अस्पताल र औषधोपचारमा करिब १ लाख रुपैयाँ नगद खर्च भइसकेको उनले बताइन् । ‘हामी जस्ता विपन्नका लागि डेढ लाख रुपैयाँ कल्पनाभन्दा बाहिरको कुरो हो,’ उनले भनिन्, ‘खै कसरी उहाँले जोहो गर्नु हुन्छ थाहा छैन, अझै कति दिन अस्पताल बस्नुपर्ने हो ठेगान छैन ।’
चैत ११ गते रंगिताको पेटमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले चैत १३ गते उनको पेटको शल्यक्रिया गरेका थिए । सर्जिकल वार्डकी इन्चार्ज नर्स दुर्गा चापागाईंले रंगिताको पेटको ‘एक्सप्लोरेटरी ल्याप्रोटोमी’ गरिएको बताइन् । पेटको आन्द्रामा समस्या देखिएपछि पेट खोलेर यस्तो शल्यक्रिया गरिन्छ । शल्यक्रियापछि ‘आइल्स्टोमी’ गरेर उनको पेटमा बन्ने दिसालाई पेट बाहिर प्लास्टिकको थैलीमा जम्मा गरिएको छ । करिब ५र६ महिनापछि फेरि अर्को शल्यक्रिया गरेर हाल बाहिर राखिएको पेटको आन्द्रालाई पेटभित्रै राखिनेछ ।
रंगितालाई डिस्चार्ज गरेर घर लग्न सकिने भएपनि उनको अस्पतालकै बक्यौता करिब ४४ हजार रुपैयाँ रहेकाले डिस्चार्ज गर्न नसकिएको चापागाईंले बताएकी छिन ।