२५ दिनदेखि शान्त रहेका शिक्षकहरु २६ औं दिनमा आक्रामक बन्दा स्थिति तनाबग्रस्त

आइतबार, १४ बैशाख २०८२

काठमाडौं – शिक्षक आन्दोलन अराजक बन्दा ६० जना घाइते भएका छन् । २५ दिनदेखि शान्त रहेका शिक्षकहरु २६ दिनमा आक्रामक बन्दा स्थिति तनाबग्रस्त बनेको छ । शिक्षकहरु आपसमा भिड्दा तनावको स्थिति सृजना भएको प्रहरीले जनाएको छ ।

शनिबार कैलालीका केशवराज जोर्शी शिक्षकबाटै कुटिएका थिए भने आइतबार शिन्धुपाल्चोकका पेम्बु नुर्बु तामाङ कुटिएका छन् । बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी तामाङ ‘घुसपैठ’ आरोपमा शिक्षबबाट कुटिएका हुन् ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले ‘नियोजितरूपमा शिक्षकमाथि गरिएको आक्रमण’मा परी ६० जना घाइते भएको दाबी गरिन् । उनले भनिन् ‘म अस्पतालमा छु । हाम्रा ६० जना शिक्षक साथी घाइते भएका छन् । राज्यले नियोजितरूपमा शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास गर्‍यो । सुरुमा प्रहरीलाई बाहिरको मान्छेले ढुंगा प्रहार गर्‍यो । त्यसपछि माहोल बिथोलियो ।’

नेपाल शिक्षक महासंघले प्रहरीले फोहोरा प्रयोग गरेको कार्यप्रति घोर भर्त्सना गरेको जनाएको छ। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले यो घटनाको महासंघले घोर भर्त्सना गर्ने बताएका छन् ।