हतकडीसहित भागेकी ५० वर्षीय महिला पक्राउ

सोमबार, १५ बैशाख २०८२

काठमाडौँ – कैलालीमा प्रहरी हिरासतबाट हतकडीसहित भागेकी ५० वर्षीया एक महिला भारतमा पक्राउ परेकी छन्।

प्रहरी कष्टडीबाट फरार ५० वर्षीया मिना शाही दमाइ भारतमा पक्राउ परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  प्रहरीका अनुसार भारतको पलियामा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

हतकडीसहित भागेकी उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याईएको छ। मानव बेचबिखन कसुरमा म्याद थपका लागि सरकारी वकिल कार्यालय पु¥याएका बेला आइतबार दिउँसो शाही भागेकी थिइन्।

अभियुक्त शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दा चलाएको थियो। वैशाख ४ गते पक्राउ परेकी उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिइन्।

अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो। दोस्रो पटक म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याइएकी मिना फरार भएकी थिइन्। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ।