प्रहरीले गर्यो विश्वकै लामो बुद्धको आकृति ‘विश्व शान्ति मण्डला’ वरामद

सोमबार, १५ बैशाख २०८२

काठमाडौँ – प्रहरीले विश्वकै लामो बुद्धको आकृति ‘विश्व शान्ति मण्डला’ वरामद गरेको छ । नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले लुकाएर राखेको मण्डला प्रहरीले १० बर्षपछि बरामद गरेको हो ।

१६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले ३ वर्ष लगाएर बनाएको मण्डला सन् २०१६ मा नेपाल ल्याएएको थियो । जापानी नागरिक यासुताजा कातागिरीको पहलमा नेपाल ल्याइएको उक्त मण्डला प्रदर्शनलगत्तै थकालीले चोरेका थिए ।

नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले सामाखुसीस्थित आफ्नो घरमा लुकाएर राखेको अवस्थामा सो मण्डला प्रहरीले बरामद गरेको हो ।

मण्डला थकालीको कब्जाबाट मुक्त गर्न जाप्निज नागरिक कातागिरी जिल्ला प्रशासन कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्रहरीका अड्डामा पटक–पटक धाए । तर, थकाली सहजै दिन तयार भएनन् । त्यसपछि कातागिरीले २०७४ माघमा जापानस्थित तत्कालीन नेपाली राजदूत प्रतिभा राणालाई सम्बोधन गरेर मण्डला जापान फर्कादिन पत्र लेखे ।

दूतावासले नेपालस्थित पर्यटन मन्त्रालयलाई उक्त पत्र ‘फरवार्ड’ गर्दै मण्डालको विषयमा भएको के हो भनेर सोध्यो । मन्त्रालयले थकालीलाई मण्डलाको विषयमा के भएको हो भनी प्रश्न गरेर पत्र लेख्यो । थकालीले उक्त मण्डला आफ्नो भएको दाबी गरे ।

जाप्निज नागरिक कातागिरी केही नलागेपछि उक्त मण्डला नेपालकै संरक्षणमा दिन राजी भए । उनले मन्त्रालयमा पुगी मण्डला नेपालकै लुम्बिनी क्षेत्र विकास कोषको संरक्षणमा व्यवस्थापन गर्न दिने निष्कर्ष सुनाए । मन्त्रालयले गत वर्ष असार ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै विश्व शान्ति मण्डला नेपाल सरकार मातहतको संरक्षणमा राख्न आग्रह गर्‍यो ।

प्रशासन कार्यालयले जाप्निज नागरिक कातागिरी र थकालीलाई डाकेर छलफल गरायो । छलफलबाट दुवैले नेपाल सरकारको संरक्षणमा राख्ने सहमति गरे । तर, थकालीले मण्डला सरकारलाई बुझाउन आनाकानी गरिरहे ।

२०८१ असार १० मा कातागिरीले जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर अर्को पत्र लेखे । पत्रमा मण्डला लुम्बिनी क्षेत्र विकास कोषको संरक्षणमा राख्न अनुरोध गरे । थकालीले पनि एउटै मितिमा प्रशासनलाई पत्र लेखी नेपाल सरकारकै संरक्षणमा राखिदिन आग्रह गरे ।

थकालीकै पत्रका आधारमा उनलाई प्रशासन कार्यालय काठमाडौंले पटक–पटक छलफलका लागि बोलायो । उनी गएनन् । बरु उल्टै २०८१ चैतमा उच्च अदालत पाटनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंविरुद्ध निषेधाज्ञाको निवेदन हाले । अदालतले अन्तरिम आदेश दिएन । त्यसपछि थकाली सम्पर्कमा नआएपछि प्रहरीले खोजी गर्‍यो ।

घरको लोकेसन पत्ता लागेपछि सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले थकालीको सामाखुसीस्थित घरमा लुकाएर राखेको अवस्थामा विश्व शान्ति मण्डला बरामद गरेर ल्याएको छ । अब प्रहरीले उक्त मण्डला प्रक्रिया पूरा गरेर लुम्बिनी कोषलाई बुझाउने तयारी गरेको छ ।

परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, इज्जत र छविमा जोडिएको विश्व शान्ति मण्डला थकालीले कब्जामा राखेको देखिएपछि बरामद गरिएको बताएका छन् ।