दुबईको गेटवे कलेज नेपाली विद्यार्थीको पैसा उठाएर भाग्यो

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौँ – बाग्लुङका श्याम खत्री (नाम परिवर्तन) प्लस टु पछि होटल म्यानेजमेन्ट पढ्ने योजनामा थिए । सामाजिक संजाल स्क्रोल गर्दैजाँदा दुबईमा अध्ययनसँग रोजगारीको राम्रो अवसर प्राप्त हुनेबारेको विज्ञापन देखे । त्यही विज्ञापन हेरेर चितवनको वेस्ट अन एजुकेशनल कन्सल्टेन्सीमा बुझ्न गए ।

कन्सल्टेन्सीले विज्ञापनमा भनेअनुसार नै अध्ययन हुने र अध्ययन पश्चात राम्रो रोजागारी प्राप्त हुने आश्वासन दियो । साथै, कन्सल्टेन्सीका काउन्सलरले अध्ययन सँगसँगै इन्टर्नसिप पनि गर्न मिल्ने भएकाले दुबईमा पढाईसँगै आम्दानी हुने भन्दै फकाए । उनले त्यहीबाट भिसा एप्लाई गर्ने योजना बनाउँदै कन्सल्टेन्सीलाई डकुमेन्ट बुझाए । त्यसको केही दिनपछि अफर लेटर आयो, एनओसी बनाए, बैंकिङ च्यानलबाट ट्यु्सन फि पनि पठाए । पैसा पठाएपछि भिसा आएको भन्दै कन्सल्टेन्सीले उनीसहित ८ जना विद्यार्थीलाई काठमाडौँ लिएर आयो । कन्सल्टेन्सीका संचालक सरोज गौतमले विद्यार्थीको टिकटसमेत काटिसकेकाले विद्यार्थीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लिएर गए ।

विमानस्थलबाट इन्ट्री गर्ने बेला थाह भयो, उनीहरुलाई दिएको भिसा नक्कली रहेछ । कलेजका संचालक प्रदिप बुढाथोकीले विद्यार्थी र कन्सल्टेन्सीका प्रतिनिधिलाई आधा घण्टा प्रतिक्षा गर्न भने । बुढाथोकीले आधाघण्टा पछि १५ मिनेट, १० मिनेट मिलाउने भन्दै टार्दै गए । जहाज उड्ने समय हुँनै लाग्दा उनी सम्पर्क विहिन भए । कन्सल्टेन्सीले विद्यार्थीलाई होटलमा फिर्ता लिएर आयो । होटलमा पनि आज-आज, भोलि-भोलि भन्दाभन्दै १ महिना वित्यो ।

माथिको कहानी श्यामसहित ८ जना विद्यार्थीको हो । दुबईको गेटवे इन्स्टिच्युट अफ प्रोफेसनल स्टडिसका संचालक प्रदिप बुढाथोकीले रकम पचाउन खोज्दा उनीहरुको विचल्ली भएको हो । विद्यार्थीले ट्युसन फिबापत ५ हजार अमेरिकी डलरभन्दा धेरै रकम दुबई पठाएका छन् । उनीहरुले उक्त रकम फिर्ता माग्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा उजुरी दिएका छन् ।

प्रहरीले शैक्षिक कन्सल्टेन्सीका संचालक गौतम अस्ट्रेलियामा भएकाले कार्यालयको तर्फबाट सुरक्षा शर्मालाई बोलाएर छलफल गरेको छ भने मन्त्रालयले कन्सल्टेन्सी आफू मातहतमा दर्ता नभएको भन्दै उजुरी तामेलीमा राखेको छ । यता शैक्षिक कन्सल्टेन्सीको ताकेतापछि प्रदिप बुढाथोकीकी श्रीमति सफलता बुढाथोकीले ५८ लाखको चेक दिएर थामथुम पार्न खोजेकी छिन् । सफलता यो विषयमा कुरा गर्न खोज्दासमेत झर्किने गरेकी छिन् ।

प्रदिप पहिल्यैदेखि वेइमान

नेपालमा उनले एस स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट नामको कलेज संचालन गर्दै आएका थिए । उनको यो कलेजलाई पनि आर्थिक समस्या आयपर्यो । केही समय राम्रो चम्किएको यो कलेज कोभिड महामारी पछि  खस्कियो । विद्यार्थी नभएपछि आर्थिक गतिविधि ठप्प परे । तिर्नुपर्ने चाङ बढेर गयो, आम्दानी भएन ।

तिर्न पर्ने ठाउँमा पछाडिको चेक दिएर टार्दै गए । बैंकको ऋण पनि थियो होला । चेक पनि नसाँटिएपछि कानुनी प्रक्रियामा जानु स्वाभाविक हो । उनको आर्थिक गतिविधि ठप्प हुँदा २०७८ साल बैशाख २४ गते कर्जा सूचना केन्द्रले कालोसूचीमा राखिदियो । त्यसको चारमहिना पछि साउनमा पनि पुनः कालोसूचीमा परेपछि उनको आर्थिक भरथेग श्रीमति सफलता बुढाथोकीले गरिरहेकी छिन् । त्यो दिनदेखि उनले नेपालमा होइन्, अनेत्रै व्यवसाय गर्नुपर्छ भनेर सोच्न थाले । भारतबाहेक नजिकको गन्तव्यमा दुवईमा कलेज खोल्ने योजना बनाए ।

उनको यो योजनाले पनि साथ दिएन र अहिले नेपाली विद्यार्थीलाई नक्कली भिसा भिराएर पैसा असुलिरहेका छन् । पैंसा फस्नुका कारणबारे कलेजले केही पनि जनाएको छैन् । कलेज संचालक सम्पर्कमा छैनन् भने उनकी श्रीमति सफलता बुढाथोकीले आफू असम्बन्धी व्यक्ति भएकाले जानकारी नभएको बताइन् । ‘म को हो र ? तपाईँले मलाई फोन गर्दै हुनुहुन्छ ।’, मोटिभेट न्यूजसँगको टेलिफोन सम्बादमा उनलले भनिन्, ‘प्रदिप सरसँगै कुरा गर्नु । मेरो विषयमा मात्र मलाई थाहा हुन्छ ।’  ‘तपाईँको श्रीमान् हुनुहुन्छ उहाँ, उहाँको सम्पर्क दिनुहोस् न’ भन्दा पनि आफूसँग सम्पर्क नभएको बताइन् ।

यता कन्सल्टेन्सीले पहिलो पटक यो कलेजसँग काम गर्दा फसेको जनाएको छ । ‘अनेत्र भिसा नलागेको बेलामा दुबई राम्रै होला भनेर काम गरियो ।’, कन्सल्टेन्सीकी सचालक प्रतिभा शर्माले भनिन्, ‘यसरी ठगीन्छ भन्ने लागेको भए किन काम गरिन्थ्यो र ? सानो छोरी छोडेर म कहिले बाग्लुङ कुद्नु परेको छ । कहिले काठमाडौँ कुद्नु परेको छ । हामी त बेकारमा फस्यौ ।’

यता सफलता बुढाथोकीले एक महिना काठमाडौँको होटलमा बसेको विद्यार्थीको खर्च तिरेर विषयलाई सामान्य बनाउन खोजेकी छिन् ।