सवारी धनीका लागि थपियो एकपछि अर्को खुशीको खबर
काठमाडौँ – सवारी धनीका लागि खुशीको खबर छ । अब ड्राइभिङ लाइसेन्स नविकरण र ब्लुबुक नवीकरणका लागि यातायात कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
बागमती प्रदेश सरकारले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली र ब्लुबुक क्यूआर प्रणाली सुरु गरेको छ । यो सेवा सुरु भएसँगै नयाँ लाइसेन्सको लागि आवेदन, लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा अनलाइनमार्फत लिन सकिनेछ ।
यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ, जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लुबुक देखाउन सक्नेछन् । ब्लुबुकमै समावेश गरिएको क्यूआर कोड स्क्यान गरेर सवारीको विवरण सजिलै हेर्न सकिने भएकाले अब कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट पनि हट्नेछ ।
मन्त्रालयले यी प्रणाली कार्यान्वयनसँगै सेवामा पारदर्शिता बढ्ने, बिचौलियाको प्रभाव घट्ने र आम नागरिकको पहुँच अझ प्रभावकारी हुने विश्वास लिएको छ।