नागढुङ्गा-नौबिसे सडकखण्ड बन्द
काठमाडौं – त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड आज सोमबारदेखि रातिमा बन्द गरिने भएको छ ।
प्रहरीका अनुसार यही वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण कार्य सञ्चालन हुनेछ ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ भित्रिने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।
आयोजनाले यो अवधिमा सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोख- गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली- गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।