राजा फर्काउन राजवादीले पुनः आन्दोलन गर्ने
काठमाडौँ – राजा फर्काउन राजावादीहरुले पुनः आन्दोलन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
सोमबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गरेको थियो । जहाँ एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईँ,रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा हाजिर जमानीमा रिहा भइसकेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मिश्र अझै पनि प्रहरी हिरासतमा छन् ।