पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले गुहार माग्दै इमेल पठाएको सांसद श्रेष्ठको खुलासा

शुक्रबार, २६ बैशाख २०८२

काठमाडौं—भारत र पाकिस्तानबीच तनावग्रस्त स्थिति बने सँगै, पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिन गुहार माग्दै पत्र पठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूबाट नेपाली विद्यार्थीले गुहार माग्दै आफूलाई इमेल आएको बताएकी छिन् । पाकिस्तानमा एमबीबीएस अध्ययनरत ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् ।

पाकिस्तानबाट विद्यार्थीले गुहार माग्दै इमेल पठाएपछि सांसद श्रेष्ठले परराष्ट्र मन्त्रालयलाई पाकिस्तानमा रहेका विद्यार्थीलाई नेपाल फर्काउन अनुरोध गरेकी छिन् ।

पाकिस्तानमा रहेका विद्यार्थीले पठाएको इमेलसमेत श्रेष्ठले सार्वजनिक गरेकी छिन् । उक्त इमेलमा विद्यार्थीहरूले लेखेका छन्, ‘यहाँ पाकिस्तानमा बस्नु अब सुरक्षित छैन किनकि बहावलपुर, लाहोर, सियालकोट जस्ता विभिन्न ठाउँहरूमा पहिले नै बम विस्फोट भइसकेको छ ।’

आफूहरूले पाकिस्तान छाड्न चाहेपछि पाकिस्तानी हवाई क्षेत्र र भारत पाकिस्तान सीमा बन्द भएको हुँदा अप्ठ्यारो परेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

विद्यार्थीहरूले भनेका छन्, ‘हामीलाई सरकारबाट तुरुन्तै मद्दत चाहिन्छ । हाम्रो जीवन जोखिममा छ । कृपया हामीलाई सुरक्षित रूपमा हाम्रो देश नेपाल फर्कन मद्दत गर्नुहोस् ।’ पाकिस्तानस्थित नेपाली दूतावासले पनि चासो नदिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।