दोस्रो कार्यकालको शुरूमै नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदी, नेपाल आउनुको के छ खास कारण ?
जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएको केही दिनमा नै नेपाल आउने भएका छन । आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै नेपाल भ्रमणको निम्तो दिने तयारी भएको छ ।
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल सेवाको उद्घाटनका लागि भारतीय प्रधानमन्त्री मोदीलाई आमन्त्रण गर्ने तयारी नेपाल सरकारले गरेको छ ।
लोकसभा निर्वाचनमा सन् २०१४ को भन्दा धेरै सिट जितेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन् । बहुमतका लागि २७२ सिट चाहिनेमा भारतीय जनता पार्टी एक्लैले ३०३ सिट जितेको छ । उसका गठबन्धन सहकर्मीले जितेको सिट जोड्दा ३५० भन्दा माथि पुग्छ ।
जनकपुर–जयनगर रेल सेवा उद्घाटनका लागि मोदीलाई आमन्त्रण गर्ने तयारी भएको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
‘जनकपुरदेखि जयनगरसम्म सञ्चालन हुने रेलको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने तयारी सहित हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने ।
भारतीय दूतावासमार्फत मोदीलाई पत्राचार गर्ने तयारी भएको उनले जानकारी दिए ।
‘नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा रेललाई हरियो झण्डा देखाएर उद्घाटन गर्ने तयारीका साथ हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने, ‘त्यसका लागि नेपाल सरकारले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत पत्राचार गर्ने मन्त्रालयले तयारी समेत गरेको छ ।’
भारतीय प्रधामन्त्रीले संयुक्त रुपमा नेपालको रेल उद्घाटन गर्ने इच्छा ब्यक्ति गरेकाले नेपाल आउने निश्चित भएको मन्त्रालयले जनाएको छ । कहिले उद्घाटन गर्ने भनेर मिति फिक्स भइनसकेको बताइएको छ ।