एनएमबिसहित चार बैंकले लाप्चे तामाकोशी र चेपे खोला क्यास्केड जलविद्युत आयोजनामा लगानी गर्ने
काठमाडौँ – एनएमबि बैंकको अगुवाईमा नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एभरेष्ट बैंकले डायनामिक हाइड्रो ईनर्जीले उत्पादन गर्ने ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएका छन् । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु. ७ अर्ब रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ५ अर्ब २५ करोड रहनेछ ।
साथै एनएमबि बैंक लिले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंक लि.को तर्फबाट सस्टेनेबल ईनर्जी बैंकिङ्ग, चिफ दिनेश दुलाल र डायनामिक हाइड्रो ईनर्जीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि एनएमबि बैंक लिका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरेका थिए । सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने बताए ।
सो क्रममा बोल्दै मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजनासहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।