१६ लाख टाउकाको मुल्य तोकिएका व्यक्ति पक्राउ
काठमाडौं – सरकारले १६ लाख नेपाली रुपैयाँ अर्थात १० लाख भारु टाउकाको मुल्य तोकेका व्यक्ति पक्राउ परेका छन् । भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग राख्दै पृथकवादी गतिविधि गर्दै आएको समूहको एक महत्त्वपूर्ण सदस्य पक्राउ परेका हुन् ।
नेपालमा लुक्दै आएका भनिएका बलवीर सिंह भनिने कश्मिर सिंहलाई भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले मोतिहार प्रहरीसँग चलाएको संयुक्त अपरेशनका क्रममा पक्राउ गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतीय प्रहरीले उनलाई मोतिहारीको नगर थाना क्षेत्रको मोतिझिलबाट पक्राउ गरेको जनाएको छ ।
तर, कतिपय सुरक्षा अधिकृतहरूले भने सिंहलाई नेपालबाट पक्राउ गरेर लगिएको दाबी गरेका छन् । सिंहको खोजीका लागि भारतीय सुरक्षा अधिकृतहरूले यसअघि नेपाल प्रहरीका अधिकृतहरुसँग समन्वय समेत गरेको स्रोतको भनाइ छ ।
प्रहरीका अनुसार, खालितस्तानको लिबरेसन फोर्ससँगै अन्तर्राष्ट्रिय शिख युथ फेडरेसनसँग जोडिएका उनले अपराधिक गतिविधिमा संलग्न अरुलाई समेत नेपालमा सेल्टर दिने गरेको आरोप थियो ।