तलब चाहिन्न भन्ने सांसदको बाहिरियो असली रुप

बिहिबार, १ जेष्ठ २०८२

काठमाडौं—जनताले तिरेको करबाट तलब नखाने भन्दै राजीनामा दिने लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङको असली रुप बाहिरिएको छ । जनमत पार्टीलाई करोडौँ बुझाएर सांसद बनेकी गुरुङ बेलायत पलायन भएकी छन् । गुरुङले समानुपातिक सांसद बन्ने क्रममा निकै महँगो ऋण लिएको र उक्त ऋण तिर्न सांसदको तलबले नपुग्ने भएपछि राम्रो कमाइका लागि बेलायत भासिएकी श्रोतले जनाएको छ ।

जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले बेलायतबाटै राजीनामा दिएकी थिईन् । उनले उतैबाट मेल गरेर प्रदेश सभाका सभामुख तुलाराम घर्तीलाई राजीनामा पत्र बुझाएको बताइन्छ ।

जनताले तिरेको करबाट तलब खान उपयुक्त नरहेको कारण देखाउँदै राजीनामा दिएकी गुरुङ केही महिनाअघि नै बेलायत पुगेकी थिइन् । उनी निकटस्थहरुका अनुसार बेलायतमै बस्ने योजना बनाएको कारण गुरुङले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी हुन् ।

गुरुङले समानुपातिक सांसद बन्ने क्रममा निकै महँगो ऋण लिएको तर उक्त ऋण तिर्न सांसदको तलबले नपुग्ने भएपछि राम्रो कमाइका लागि उतै बस्ने योजना बनाएको स्रोत बताउँछ ।

यद्यपि, उनका श्रीमान कैलाश गत चैत पहिलो साता जनमत त्यागेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरिसकेका छन् । सोही कारण पार्टी नेतृत्वले गुरुङलाई पनि पार्टी छाड्न र पदबाट राजानीमा दिन दबाब दिएको धेरैको बुझाइ छ ।