हृदयेन्द्र फर्किएपछि राजावादी हर्षित

शनिबार, ३ जेष्ठ २०८२

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द शाहका नाती हृदयेन्द्र शाह काठमाडौ फर्केका छन् । अमेरिकाको बोस्टनमा अध्ययनरत शाह शनिबार स्वदेश फर्किएपछि राजावादीहरु उत्साहित भएका छन् ।

१५ गतेदेखि गर्ने भनिएको संयुक्त जनआन्दोलन अघि नेपाल आउनुमा संयोगमात्र मान्न नसकिने भन्दै राजावादीहरु उत्साहित भएका हुन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि राजा फर्काउने आन्दोलन गर्दैछ ।

रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेपछि उनी २०७८ मा उच्च शिक्षाका लागि अमेरिका गएका थिए । केही समयको बिदाका लागि हृदयेन्द्र नेपाल आएको हुन् ।

केही समय अघि अभिनेत्री सुरक्षा पन्तले टेलिभिजन अन्तर्वार्तामा हृदयेन्द्रलाई फिल्म क्षेत्रमा आउन सुझाएको विषय निक्कै चर्चामा आएको थियो । उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा निक्कै आलोचित पनि बनेको थियो ।