नगर प्रहरी प्रमुख पाण्डेलाई हटाउने प्रक्रिया सुरु

मंगलबार, ६ जेष्ठ २०८२

काठमाडौं—बालेनका ‘दाहिने हात’ मानिने महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई हटाउने प्रक्रिया सुरु भएको छ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्पष्टीकरण सोधेर प्रक्रिया सुरु गरेका हुन् । गत चैतमा गुरागाईँ कार्यालयमा हाजिर हुन जाँदा मेयर बालेनको आदेशमा पाण्डे नेतृत्वको नगर प्रहरीले अवरोध गरेको बदलामा गुरागाईँले कारवाही प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले हिजो लेखेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेका हुन् ।

गत चैत तेस्रो साता गुरागाईँ कार्यालयमा हाजिर हुन जाँदा मेयर बालेनको आदेशमा पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले अवरोध गरेको थियो । त्यतिबेला उपमेयर सुनिता डंगोल, अन्य जनप्रतिनिधि र महानगरका कर्मचारीले घेरा हालेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका थिए । सोही विषयमा अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई सात दिनभित्र स्पष्टीकरण दिन पत्र लेखेको बताइन्छ ।

महानगरका एक जना कर्मचारी भन्छन्, ‘नगर प्रहरी परिचालन गर्ने कानुनी अधिकार त सरोज सरलाई नै हो । तर अस्ति जुन घटना भयो, त्यसमा मेयर साप नियमविपरित हाबी हुनुभयो । यो राम्रो भएन भनेर उपमेयरज्यूले हौसला दिएपछि स्पष्टीकरण सोधिएको हो ।’

पत्रमा पाण्डेलाई चित्त बुझ्दो जवाफ नदिए कारबाही गरिने उल्लेख छ ।