पाकिस्तानमा स्कुल बसमा आक्रमण, तीन बालबालिकासहित पाँचजनाको मृत्यु

बुधबार, ७ जेष्ठ २०८२

काठमाडौं— पाकिस्तानको बलुचिस्तानको खुजदारमा बुधबार बिहान एउटा स्कुल बसमा आक्रमण हुँदा तीन बालबालिकासहित पाँचजनाको मृत्यु भएको छ। सो आक्रमणमा परी दुई दर्जनभन्दा बढी घाइते भएका छन्। बिहान सबेरै खुजदार सहरको जिरो पोइन्टमा बस सहरका विभिन्न भागबाट बालबालिकालाई स्कुल लैजाँने क्रममा विस्फोट भएको स्रोतले बताएको छ ।

घाइतेहरूलाई अस्पताल पठाइएको छ। आक्रमणको अनुसन्धान अझै जारी रहेको र प्रमाण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।खुजदार प्रहरी चौकीका अनुसार निशाना बनाइएको बस खुजदार क्यान्टको एक स्कुलका बालबालिका बोकेर गइरहेको थियो।

विस्फोटबाट बस पूर्णरूपमा ध्वस्त भएको छ। बस नजिकै पार्किङ गरिएको सानो कारमा समेत क्षति पुगेको छ। प्रहरी अधिकारीहरूका अनुसार बसमा करिब ४० जना बालबालिका थिए।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर, यसलाई बलुच अतिवादीहरूसँग जोडिएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणको कडा निन्दा गर्दै बालबालिकाको मृत्युप्रति समवेदना व्यक्त गरेका छन्।