नेपाली कांग्रेसलेसमेत माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा

शनिबार, १० जेष्ठ २०८२

काठमाडौँ – नेपाली कांग्रेसले भिजिट भिसा काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेको छ।  नेपाली कांग्रेसका नेता डा.  शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुउत्तम हुने बताए।

उनले भने, ‘रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त। उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरे। छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप लागिरहेको बेलामा कोइरालाले गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।

नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताए।