नेपाल टेलिकमले डुबायो साढे १६ करोड
काठमाडौँ – नेपाल टेलिकमको मुख्य लगानी रहेको नमस्ते पे साढे १६ करोड घाटामा गएको छ । टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त लगानी ४० करोड खर्चिएर खुलेको सरकारले बालेट कम्पनी सञ्चालनमा आएको ५ वर्षमा साढे १६ करोड रुपैयाँ घाटामा गएको हो ।
बजारमै भएकै सेवाप्रदायक जस्तै बत्ति, पानी, इन्टरनेटको बिल तिर्न, मोबाइल टपअप (रिचार्ज गर्न) सहितका डिजिटल भुक्तानी गर्ने भन्दै सुरुवात भएको यो कम्पनीले अरुभन्दा फरक काम गर्न नसकेका कारण चालू आर्थिक वर्ष २०८१÷८२ को पुससम्मको तथ्यांक अनुसार यो कम्पनी संचित नोक्सानी १६ करोड ५५ लाख रुपैयाँ घाटामा छ ।
गत आर्थिक वर्ष २०८०÷८१ सम्ममा यसको नोक्सानी १३ करोड रुपैयाँ नाघेको तथ्यांक सार्वजनिक भएको छ भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ करोड ९८ लाख रुपैयाँ घाटा थपिएको यो कम्पनीले सार्वजनिक गरेको वित्तीय रिपोर्टले देखाएको छ ।
नमस्ते पे नामक वालेट सञ्चालन गरिरहेको नेपाल डिजिटल पेमेन्ट नामक कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८२ लाख रुपैयाँ आम्दानी गर्दा ४ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । यस्तो खर्चबाट यो कम्पनीको घाटा नै २ करोड ९८ लाख भएको तथ्यांकले देखाएको छ ।
स्थापना कालदेखि नै नाफा गर्न नसकेको यो कम्पनी निरन्तर नोक्सानीमा रहेकोले संचित घाटा बढ्दै गएको महालेखा परीक्षकको ६२ औं प्रतिवेदनले समेत औल्याएको छ । तथ्यांक अनुसार टेलिकमको सहायक कम्पनी नमस्ते पे स्थापना कालदेखि नै निरन्तर नोक्सानीमा रहेको छ । उक्त नोक्सानी कम गर्ने र लाभ गर्ने गरी नमस्ते पेले काम गर्न नसक्दा घाटामा सञ्चालन भइरहेको छ ।