राजावादी आन्दोलनबाट नवराज सुवेदीलाई हटाउने तयारी
काठमाडौं – राजावादी आन्दोलनबाट नवराज सुवेदीलाई हटाउने तयारी थालिएको छ । कमल थापा, केशरबहादुर विष्टसहित केही पूर्वपञ्चले नेता मानेका वयोवृद्ध पूर्वपञ्च नवराज सुवेदीलाई हटाएर संयुक्त जनआन्दोलन परिचालन समितिलाई पुनरगठनको तयारी थालिएको छ ।
संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता भद्रप्रसाद नेपाल (स्वागत)ले नेपाली कांग्रेसबाट शंकर भण्डारी, एमालेबाट निकालिएका डा. भीम रावलसहितका नेतालाई लिएर नयाँ ढंगले आन्दोलन गर्ने तयारी भइरहेको बताएका छन् । कांग्रेस नेता भण्डारीले पार्टीभित्रै हिन्दुराष्ट्र अभियान चलाइरहेका छन् ।
“युवाहरूले बनाएको योजनाअनुसार चल्न सके अहिलेकै संयुक्त जनआन्दोलन परिचालन समितिमार्फन अन्दोलन गर्ने अन्यथा युवाहरूकै नेतृत्वमा नयाँ जनआन्दोलन परिचालन समिति गठन गरेर अघि बढ्ने तयारी भएको छ,” स्वागत नेपालले भने, “अबको आन्दोलन नेपाली कांग्रेसमा हिन्दुराष्ट्र अभियानको नेतृत्व गरिरहेका शंकर भण्डारी, एमालेबाट विद्रोह गरेका डा। भीम रावलसहितलाई समेटेर हुनेछ ।”
उनका अनुसार, सुवेदी, थापासहितका संयुक्त जनआन्दोलन समितिमा रहेका पाका उमेरका नेतालाई सल्लाहकार राखेर अबको आन्दोलन हुनेछ । संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले भने आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । “हटाउने भए हटाएर देखाए हुन्छ,” उनले भने, “आन्दोलन चल्छ भने मलाई हटाउने विषय सामान्य हो ।”
राजावादी आन्दोलनमा चार पार्टीबाहेक ४१ विभिन्न अभियान, अभियन्ता समूह, क्लब संलग्न छन् । यही जेठ २१ मा संयुक्त जनआन्दोलन परिचालन समितिले चैत १५ देखि जेठ १५ सम्मका आन्दोलनमा भएका उपलब्धि र कमजोरी केलाउँदै नयाँ राणनीति बनाउन समीक्षा बैठक राखेको थियो । मिडिया राखेर समीक्षा बैठकलाई भाषण गर्ने थलो बनाएको भनेर संयोजक सुवेदी, थापासहितको विरोध भएको थियो ।
प्रवक्ता नेपालसहितले मिडिया हटाएर रणनीतिक बैठक गरौँ र अगाडिको कार्ययोजना बनाएर जाऊँ भन्ने प्रस्ताव राखेका थिए । तर, थापा र सुवेदीले मिडिया राखेर भाषण गर्न खोजेपछि नवदुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रम भाँडिएर साँझ विज्ञप्तिमार्फत आन्दोलनका स्वरूप परिवर्तन भएको घोषणा गरिएको थियो ।
“उहाँहरूले भनेअनुसार स्थानीय तहका वडासम्मका गतिविधि हुनु आवश्यक छ, हुन्छन्,” नेपालले भने, “तर, काठमाडौंमा जारी आन्दोलन रोकिनु हुँदैन । आन्दोलनलाई नयाँ उचाइ दिनका लागि डा। रावल, शंकर भण्डारीसहितसँग पनि छलफल भइरहेको छ ।”
उनले कांग्रेस, एमाले, माअोवादीसहित सबै पार्टीमा वर्तमान नेतृत्व र अहिलेको व्यवस्थाप्रति तीव्र असन्तुष्टि र विद्रोह रहेको भन्दै त्यो पक्षलाई पनि आन्दोलनमा आउनका लागि एक चरणको वार्ता समेत भइसकेको जानकारी दिए । “शंकर भण्डारी, डा. भीम रावल, नेपाली कांग्रेस बीपीका कर्ण मल्लजीहरूसँग कुराकानी भएको छ,” नेपालले भने, “अर्को चरणमा आन्दोलन हुँदा कांग्रेसको वडा प्रतिनिधि मात्रै भए पनि राजनीतिक सन्देश दिने गरी सहभागी भएर सशक्त आन्दोलन हुनेछ ।”
मातृभूमि जागरण अभियानका संयोजकसमेत रहेका रावलले भने राजावादीहरूले आफूलाई नभेटेको बताए । नेता रावलले पछिल्लो आफ्नो राजावादीसँग कुनै प्रकारको सम्पर्क नरहेको बताएका हुन् । “म आफ्नै अभियानमा व्यस्त छु । केही दिनअघि मात्र म अभियानबाट काठमाडौं फर्किएको छु,” रावलले भने, “मसँग राजावादीको भेट त के टेलिफोनसम्म पनि भएको छैन ।”
उनले आफू मातृभूमि जागरण अभियानलाई देशभर पुर्याएर पार्टीका रूपमा स्थापित गर्ने अभियानमा व्यस्त रहेको बताए । कांग्रेसबाट सांसद समेत रहेका केन्द्रीय सदस्य भण्डारीले भने राजावादीसँगको भेटबारे पुष्टि गरे । कांग्रेसमा ‘हिन्दुराष्ट्र अभियान’ नामक समूहको नेतृत्व गरिरहेका उनले ‘राष्ट्र सबैभन्दा माथि’ भन्ने पक्षमा रहेकाहरूले आफूलाई भेट्ने गरेको बताए ।