भिजिट भिसा प्रकरणले लियो नयाँ रुप

मंगलबार, २७ जेष्ठ २०८२

काठमाडौँ – भिजिट भिसा प्रकरणको अनुसन्धानले नयाँ रुप लिएको छ । गृहमन्त्री जोडिएको भन्दै संसद अवरुद्ध भइरहेका बेलामा अख्तियारले अनुसन्धानको सुई गृहसचिव गोकर्णमणि दुवाडीतिर सोझ्याएको छ । उनको नाम जोडिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत स्पष्टिकरण सोधिको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएर आर्थिक अपचलन गरेको आरोप लागेपछि उनलाई स्पष्टीकरण सोधिएको हो । कार्यालयले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न नसकेको भनेपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएर आर्थिक अपचलन गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो ।

यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको थियो । गृहसचिव दुवाडीले दरबन्दीभन्दा बढी कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा खटाएको भेटिएपछि स्पष्टीकरण सोधिएको हो । ‘गृहसचिवले सात दिनभित्र जवाफ नपठाए कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुन्छौँ भन्ने पत्रमा उल्लेख गरिएको छ,’ स्रोतले भन्यो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा सम्बन्धमा अनुसन्धान गर्दा गृहसचिवले दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको पाएको थियो । त्यसपछि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएर के भएको हो बुझ्न भनेको थियो । गृहसचिव दुवाडीले दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको र उनीहरूले सेटिङमा भिजिट भिसामा नेपालीलाई विदेश पठाउन मानव तस्करहरूलाई सघाएको भन्दै नेपालबहसले गत ३ जेठमा समाचार ब्रेक गरेपछि अख्तियारमा उजुरी परेको थियो ।

उजुरीमा दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन पठाएर गृहसचिव दुवाडीले अनियमितता गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । अख्तियारले सोही उजुरी साथमा राखेर गृहसचिवको कार्य बुझ्न भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । अख्तियारले यही जेठ ७ गते गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।

मानव तस्करको सेटिङमा भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउन सघाएको आरोपमा अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पनि छापा मारेको थियो । अख्तियारले छापा मार्ने सुईको पाएपछि गृहमन्त्री रमेश लेखकले रातारात भट्टराईलाई अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरेको भोलिपल्ट अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।