सर्वोच्चको आदेशपछि स्वतः खुल्यो दक्षिण कोरियाको एनओसी
काठमाडौँ – अध्ययनका लागि दक्षिण कोरिया जाने विद्यार्थीका लागि रोकिएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) खुलेको छ । सर्वोच्च अदालतको आदेशपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यार्थीका लागि एनओसी खुल्ला गरेको छ ।
सर्वोच्चको आदेश कार्यान्वय गर्ने निर्णय गरेर एनओसी शाखामा लेखि पठाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख वैकुण्ठ अर्यालले मोटिभेट न्यूजसँग कुरा गर्दै एनओसी खुलाउने निर्णय भएर कार्यान्वयनमा गइसकेको बताए । गत वैशाख ३० गते कोरियास्थित नेपाली दूतावासको आग्रह र परराष्ट्र मन्त्रालयको पत्रपछि शिक्षा मन्त्रालयले एनओसी रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध हेमन्त जोशीसहितका विद्यार्थी सर्वोच्च गएका थिए ।
जेठ २६ गते सोमबार बसेको डा. नहकुल सुवेदीको एकल इजलासले शिक्षा मन्त्रालयका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेको थियो ।
सोही आदेश अनुसार एनओसी खुलाइएको महाशाखा प्रमुख अर्यालको भनाई छ । निवेदक विद्यार्थी हेमन्त जोशीकोको तर्फबाट विद्वान् बरिष्ठ अधिवक्ता एकराज भण्डारी र कपिलचन्द्र पोखरेल तथा अधिवक्ताहरू राजु अधिकारी र सुदिप ढकालले वहस गरेका थिए ।