नयाँ पार्टी खोल्ने तयारीमा बालेन, संयोजकमा सुमना
काठमाडौं —काठमाडौँका मेयर बालेन शाहसहित २० जना पार्टी खोल्न सहमत भएका छन् । बुधबार बसेको भर्चुअल बैठकमा नयाँ पार्टी खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भई सहमति भएको लोकगायक भगवान भण्डारीले बताएका छन् । करिब ६५ मिनेट लामो छलफलमा पार्टीको नयाँ नाम र पार्टी संयोजकमा सहमति भएको छ ।
बालेन, हर्कसहित २० जना सहभागी बैठकले सुमना श्रेष्ठलाई संयोजक तोक्ने सहमति गरेको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका लोकगायक भगवान भण्डारीले फेसबुकमा स्टाटस लेख्दै भर्चुअल बैठक विषय सार्वजनिक गरेका हुन् ।
स्टाटस यस्तो छः
आज फेसबुक ग्रुपमा जोडिएर नेपालको राजनीतिको बारेमा निकै गम्भीर विषयमा कुराकानी भयो । राजनीतिलाई एकदमै नयाँ शिराबाट उठाएर पुराना भ्रष्टाचारीलाई विस्थापित गर्ने कुरामा सबै सहमत भए पनि हर्कजीको जिद्दी पन अलि बढी नै थियो । बालेन जी सोह्रै आना सहमत हुँदा सबैको समर्थन रह्यो । एक जना संयोजक र सबै सहसंयोजक रहने कुरामा पनि सबैको ताली बज्यो । सुमना श्रेष्ठ संयोजक हुने कुरामा केही असहमति देखिए पनि समग्रमा सबैको समर्थन रहेको पाइयो । पार्टीको नयाँ नाम राख्ने कुरामा सबै एकमत भएको पाएँ २० जना जोडिएर गरेको लगभग ६५ मिनेटको बहस पूर्ण सकारात्मक रहेको महसुस गरेको छु ’
भण्डारीको स्टाटसलाई पत्याउने र नपत्याउने दुवै आधारहरू देखिन्छन् । बालेनले काठमाडौं महानगरपालिकामा २०७९ सालको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । यस्तै हर्क साम्पाङ पनि स्वतन्त्ररुपमा विजयी मेयर हुन् । बालेन र हर्क दुवैको चुनाव चिन्ह लौरो थियो । हर्क बालेनसँग मिलेर नयाँ पार्टी खोल्न चाहन्छन् भन्ने कुरा छिपेको छैन । उनले फेसबुकमा बारम्बार यस्तो आशय व्यक्त गर्ने गरेका छन् ।
२०८० सालको मंसिरमा नै हर्कले ‘नयाँ शक्तिको निर्माण हुनेछ’ भनेर स्टाटस लेखेका थिए । काठमाडौंमा आएर बालेनसँग भेटघाट गरेलगत्तै उनले सो स्टाटस लेखेका हुन् । तर, बालेन निकटस्थहरूले भने राजनीतिक सहकार्यका विषयमा साम्पाङसँग कुनै योजना नबनेको बताउँदै आएका छन् ।
गत फागुनमा पनि साम्पाङले नयाँ पार्टी खोल्ने इच्छा फेसबुकबाटै व्यक्त गरेका थिए । उनले लखेको स्टाटस थियो, म बुझ्न चाहन्छु, यदि ८४ मा बहुमत दिने भए म पार्टी खोल्छु । पार्टीको एजेन्डा एउटै हुने छ, भ्रष्टाचार गरेर ठगी गरेर खर्बौँ रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानिछानी घोक्रे ठ्याक लगाएर जेल कोच्ने । पलायन भएको पैसा फिर्ता गर्ने । दिने हो साथ ?’
यता बालेनले भने अहिलेसम्म आफ्नो मिसन ०८४ के हो भन्ने कुनै पनि संकेत सार्वजनिकरुपमा गरेका छैनन् । उनले फेरि मेयरमै स्वतन्त्र उम्मेदवारी दिनेदेखि पार्टी खोलेर ठूला दलहरूलाई पाखा लगाइदिनेसम्मका सार्वजनिक चर्चा परिचर्चाहरू हुने गरेका छन् । बालेनले नयाँ पार्टी खोले हुन्थ्यो भनेर पर्खाइमा बसेकाहरूलाई भगवान भण्डारीको स्टाटसले उत्साहित तुल्याइदिएको छ ।
बालेनले पार्टी खोल्ने चर्चाले सबैभन्दा बढी तरंगित बनेको छ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी । भण्डारीले नयाँ पार्टीको संयोजक भनेर दाबी गरेकी सुमना अहिलेसम्म रास्वपामै छिन् । सहमहामन्त्री पद त्यागे पनि उनी पार्टीको जिम्मेवार केन्द्रीय सदस्य र समानुपातिक सांसद हुन् । उनले सार्वजनिक रूपमा कतै पनि रास्वपा छोड्ने कुरा गरेकी छैनन् ।
यदि बालेनले पार्टी खोले भने सबैभन्दा ठूलो क्षति रास्वपालाई हुन सक्ने आँकलन हुने गरेको छ । रास्वपाका कतिपय चर्चित नेताहरू नै रविको काँधबाट ओर्लेर बालेनतिर लाग्न सक्ने स्थिति पनि देखिन्छ । साथै, रास्वपाको भोट बैंक पनि पूर्णरुपमा बिथोलिने खतरा छ ।