हाँसो र आँसुले भरिएको नरेन्द्र महर्जनको जीवन, आफू डुब्दा पनि हार मानेनन्
वरिष्ठ चलचित्र वितरक तथा निर्माता नरेन्द्र महर्जनले आफ्नो जीवनमा कैयन चलचित्र प्रदर्शन गरे र बनाए । कुनै चलचित्रले दर्शकको आँखा वेदनामा रसाए त कुनै चलचित्रले दर्शकको ओठबाट खुसीका फूल बर्षाए । यसरी हाँसो र आँसुले संयोजित चलचित्रमा जीवनको झन्डै छ दशक बिताएर जीवनलाई फर्केर हेर्दा, आफ्नो जीवन पनि एउटा चलचित्र जस्तै भएको उनले ख्यालै पाएनन् । चलचित्रमा जस्तो आँसु र हाँसो मिश्रित कथा, पटकथा र संवादले जीवन बुनिसकेको रहेछ । उनको रिल जस्तो लाग्ने रियल जीवनको कथा नेपाली कथानक चलचित्र ‘सुखदुख’कै प्रतिच्छाया हो भन्दा फरक नपर्ला ।
चलचित्र वितरक तथा निर्माता नरेन्द्र महर्जनको जन्म आज भन्दा ५९ वर्ष पहिले कीर्तिपुरको पाँगामा मध्यमवर्गीय परिवारमा भएको थियो । बुबा नन्दबहादुर महर्जन जिल्ला प्रशासनमा सरकारी जागिरे हुनुहुन्थ्यो भने आमा पार्वती महर्जन गृहणी । बुबाको काँधमा दुई छोरी (निर्मला र शर्मिला), दुई छोरा (नरेन्द्र महर्जन र गायक सुरेन्द्रमान सिंह) लाई हुर्काउर्ने पनि जिम्मेवारीको विशाल पहाड थियो । आर्थिकरुपमा काम गर्ने हात जम्मा दुइटा, त्यही दुई हातको उपजले ६ थान पेट धान्नुपर्ने । बुबा जागिरे भएकोले विभिन्न जिल्लामा बुबाको सरुवा भैरहन्थ्यो । उनी कीर्तिपुरको जनसेवा माध्यमिक बिद्यालयमा कक्षा पाँच पढदापढदै बुबा वीरगञ्ज सरुवा भैजाँदा, परिवारसँगै वीरगञ्ज पुगे । रापिलो मौसम, नयाँ विद्यालय, नयाँ परिवेश, भाषामा दूरता र क्लिष्टता आदिले गर्दा सुरुका दिन उनका लागि निकै कष्टकर भए । यद्यपि सबै प्रतिकुलतासँग अभ्यस्त हुँदै, वीरगञ्जकै त्रिभूवन हनुमान माध्यमिक बिद्यालयबाट आफ्नो औपचारिक शिक्षालाई अगाडि बढाए । त्यतिबेला, वीरगञ्जमा मौसम मात्र होइन, व्यापारिक हावा पनि तातो थियो । उनलाई त्यहाँको हावा र संगतले व्यापारप्रतिको लगाव बढायो । वीरगञ्जमै आफ्नो मामा पत्रकार नजरराम महर्जनसँग उनले स्कुल पढदापढदै व्यापारको कखरा सिकिरहेका थिए । व्यापारलाई सिक्दै सिक्दै एसएलसी सकाए ।
एसएलसी पछि उच्च शिक्षामा व्यवस्थापन चुनुँ कि जस्तो लागिरहेको अन्यौल वर्षमा, आफ्नै एक मिल्ने साथीको दाइले उनलाई विज्ञान पढन सुझाए । दाइको सुझावलाई मनन् गरेर विज्ञान त पढे, तर अंग्रेजी एउटा विषयमा अनुतीर्ण भए । एक वर्ष पुरै अल्मलिएको समयमा, बुबाले ‘अव खाली नबस् केही गर’ भनेर उनलाई व्यापारमा केही पुँजी लगाइदिनृु भयो । त्यो व्यापार चौबीस घण्टा नै चल्नेखालको थियो । यसरी उनले पढाइसँगसँगै व्यापार गरेर आइएस्सी कटाए । उनी यति मेहनती थिए कि, दिनको उज्यालो समय मात्र होइन, प्रकृतिले अब आराम गर भनेर सृष्टिको बती निभाइदिने समय पनि चुँडेर व्यापारमा होमे । मेहनतको उपज व्यापार राम्रो भयो । त्यही बेलामा, भाग्यले रसियामा एमबिबिएस पढन जाने संयोग मिल्यो । जेठो छोरो भएकोले, परिवारको सबै भार आफ्नो काँधमा थियो । रसियामा परिवार बिनाको सात बर्ष उनले घनघोर पहाडतुल्य हुने ठाने । उनले एमबिबिएस पढेर डाक्टर हुने सपना थन्काए । फेरि, बुबाले नेपाल बैंकमा जागिरको लागि सिडियोसँग कुरा गर्नु भएको रहेछ । जागिरमा पनि उनको व्यापारमा अभ्यस्त मन तानिएन । उनले आइएस्सी ठाकुरराम बहुमुखी कलेजबाट गरे भने हरिखेतान कलेजबाट बि.कम र कीर्तिपुरको त्रिभूवन विश्वविद्यालयबाट एम कम गरे । कीर्तिपुरमा बस्दै एम.कम गर्ने क्रममा, वीरगञ्जको व्यवसायमा असर पर्न गएकोले पढाइलाई विश्राम दिएर वीरगञ्जै गएको उनी बताउँछन् ।
सानैदेखि चलचित्र हेर्नमा उनको विशेष लगाव थियो । संयोगले उनको पसल र वीरगञ्जको ‘त्रिमूर्ति’ सिनेमा हल नजिकै थियो । चलचित्र हलमा टाँसिने ठूला ठूला पोस्टरले उनलाई आकर्षित गर्दथे । जसकारण उनी जहिले पनि कुनै पनि चलचित्रको पहिलो दिन र पहिलो प्रदर्शनीलाई कहिले छुटाउँदैन्थ्यो । चलचित्रप्रतिको मोह यसरी बढदै गइरहेको थियो । एकदिन हेटौंडामा बस्नु हुने फुपूको छोरो बिष्णुलाल डंगोलले साथीहरुसँग भारतबाट चलचित्र ल्याएर वितरण गर्ने प्रस्ताव ल्याउनु भयो । उनी नेपाल र भारतको सिमानामा बसोबास गर्ने भएकोले प्रस्ताव गरेको रहेछ । प्रस्तावित व्यवसायमा उनलाई दिलचस्पि बढयो, किनभने उनको सौख त्यसैमा जोडिएको थियो । उनले त्यो बेला झन्डै डेढ लाख जति लगानी गरे । यसरी उनी चलचित्र वितरणको एउटा ग्रुपमा जोडिए । जोइन्ट भेन्चरमा ल्याएर त्रिमूर्ति हलमा देखाएको पहिलो चलचित्र थियो, नाना पाटेकरको ‘क्रान्तिविर’ । त्यसपछि साहरुख खानको ‘डर’, गोविन्दाको ‘आग’ लगायत अन्य चलचित्र प्रदर्शन गरे ।
रमाइलो कुरा यहाँतिर छ कि उनी जहिले हलमा पहिलो प्रदर्शनी हेर्न जाने भएकाले उनलाई हलका सबै कर्मचारीले चिनेका थिए । त्यो बेला प्रदर्शन भएको चलचित्रको पहिलो दिन, दिउँसो बाह्र बजे चलचित्र प्रदर्शन हुन्थ्यो भने बिहान जिल्ला प्रशासनबाट चलचित्र सेन्सर गराउनु पथ्र्यो । एकदिन ‘क्रान्तिवीर’ प्रदर्शन हुने पहिलो दिन उनी बिहानै हलमा पुगेका थिए । उनलाई त्यहाँको एक चिन्ने कर्मचारीले ‘फिल्म त १२ लाग्छ, दाइ किन बिहानै आउनु भएको हो ? अहिले सेन्सर हुने समय पो हो’ भनी प्रश्न गर्दा ‘यो चलचित्र नै मेरो हो । मैले नै सेन्सर गर्न ल्याएको हो । मैले ल्याएको हो यो चलचित्र प्रदर्शन गर्न’ भनेर प्रतिक्रिया दिएको क्षणलाई कहिले भुल्दैनन् । यसो भन्दा हलका कर्मचारी लाज र आश्चर्यले लाल भएका थिए । जुन चलचित्र हलमा पहिला उनी दर्शक बनेर टिकट काटथे, त्यहीँ चलचित्र वितरक भएर मात्र गएनन्, पछिल्ला दिनमा त्यही सिनेमाघरको २५ प्रतिशत सेयर नै किनेर मालिक नै भए ।

यसपछि उनी चलचित्र वितरण गर्ने ठूलो समूह नारायणी ग्रुपमा आबद्ध भयो, जहाँ उनलाई दोस्रो वरियताको जिम्मेवारी प्रदान गरियो । त्यही जोइन्त भेन्चरले उनीहरुले हिन्दी सुपरहिट चलचित्रहरु ‘खेलाडियोका खेलाडी’, ’इश्कलगायत अनेक चलचित्र वितरण गरे । यही क्रममा भारतबाट ‘घरवाली वहालवाली’ सुटिङ्ग युनिट नै नेपाल ल्याए । उक्त चलचित्रको कथा नेपाली दर्शकलाई पाच्य भएन । यसरी वितरणमा धक्का लागेपछि, अब हिन्दी गरेर भएन नेपाली गर्नु पर्यो भनेर राजेश हमालको ‘एक नम्बरको पाखे’ नेपाली चलचित्रको वितरण सुरु गरे ।
त्यही गु्रपसँग मिलेर, सर्लाहीको लालबन्दिमा बि.स. २०५२ सालमा ‘बिणा चलचित्र मन्दिर’ हल खोले । उनको हल ब्यवसायको सुुरुवात यसरी भयो । अन्य विभिन्न ठाउँमा लिजमा हल लिएर सञ्चालन गर्न थाले । यसरी चलचित्र प्रदर्शन गर्नका लागि नेपालका विभिन्न ठाउँहरु लहान, ताँदी, पर्सा, बर्दिघाट र काठमाडौका ठाउँ ठाउँमा हल लिजमा लिएर फिल्म प्रदर्शन गर्न थाले । अव चलचित्र पनि निर्माण गर्नु पर्यो भनेर पहिलो चलचित्र सन २००२ मा चरित्र अभिनेत्री शुसिला रायमाझीसँग मिलेर फिल्म निर्माण गरे, ‘धनसम्पति’ । निर्देशक तथा कलाकार युवराज लामासँग मिलेर ‘माउते दाइ’ र ‘खानदान’ बनाए । त्यसै गरी शिव रेग्मी निर्देशकृत चलचित्र सन २००४ मा ‘सुखदुख’ त सुपरदुपर हिट नै भयो ।
महानायक राजेश हमालसँग पनि उनको मीठो संयोग जुध्न गयो । जीवनमा उनले बिणा चलचित्र मन्दिरमा प्रदर्शन गरेको चलचित्र राजेश हमालकै विस २०५३ सालमा प्रदर्शित भएको ‘सिमाना’ थियो भने वितरण गरेको पहिलो नेपाली चलचित्र पनि राजेश हमालकै रहयो ‘एक नम्वरको पाखे’ । यसरी चलचित्रले सफलता पाएर हौंसिरहेको बेलामा एक्कासी नेपालमा २०५८ सालमा दरबार हत्याकाण्ड भयो । त्यही बेलामा द्धन्द्धकाल पनि चरम उत्कर्षमा थियो । निर्माणाधीन चलचित्र ‘उपहार’ र ‘छोरा’ले अपेक्षित ब्यापार गर्न सकेन्, उपहारले कुनै उपहार नै नदिइ तुहिए । त्यो समयमा, वितरणका लागि भनी ल्याएका थुप्रै चलचित्र चलेनन् । आकस्मिक यस्तो अवरोहले नारायणी ग्रुपमा ठूलै पहिरो गयो । त्यो अवधिमा झन्डै उनीहरुले अढाइ करोड घाटा खाए । नारायणी ग्रुपका अध्यक्ष शुसिल चौंगाई त्यही दौरानमा साथीहरुसँग सरसल्लाह गरी अमेरिका गए । त्यो चलचित्र मन्दिको समयमा कर्मचारीहरुलाई तलब दिन नसकेकोदेखि लिएर मोबाइल फोनको इन्कम कल काटिएकोसम्म तीतो अनुभव उनीसित छ । बैंकको किस्ता बुझाउन, त्यो बेलामा उनको वीरगञ्जको घर, मानभवनको घरसमेत बिक्री भयो ।
अवरोहको समयमा पनि अन्य पेशामा आकर्षित भएन । उनले यही क्षेत्रमा ‘गर्छु कि मर्छु’को अठोत लिएर सन २००१ मा उनी हेटौँडा आए । लिजमा चलाउँदै आएको हेटौडाको ओम हलमा अथक मेहनत गरे । आर्थिक मन्दिको त्यो समयमा, एकाध बैंकले उनलाई त्यो बेला सघाए भने तीन चार जना हलका पुराना कर्मचारीहरुले ‘तपाईले राम्रो गर्नु पर्यो । हामीलाई अहिले तलब चाहिन्न, पछि राम्रो भएपछि दिनु’ भनेर हौस्याए पछि हेमन्तले उजाडिएको उनको हौसलाका रुखमा फेरि हरिया पात पलाए । दुखको बेलामा उनको आँसुसँगै उभिएका कर्मचारीहरु आज पनि उनको टिममै छन् । उनले जीवनमा गुणलाई कहिले बिर्सेनन् । नारायणी ग्रुपको मुख्य मान्छे, जस्ले हिसावकिताव हेर्दथ्यो, शुसिल चौगाईँ विदेश पलायन भएपछि गु्रपका हिसाबकिटाव हेर्ने एकान्टेन्टले ‘तपाई चलाउनुस्, मलाई हिसाबकिताव सबै थाहा छ । म सबै सम्हालिदिन्छु, तपाईहरुको धेरै गुण छ जीवनमा ।’ यति भनेर आएपछि उनले सृर्जेको हौसलामा थप हौसलाको जोड भयो । यसरी ग्रुपमा उनको जिम्मेवारीसँगै वरियता पनि पहिलो स्थानमा उक्लियो । त्यो समयमा, ऋण पनि उनले बैंकसँग कुरा गरेर मिलाए ।
बि.स. ६२÷६३ को जनआन्दोलनको सफलतापछि चलचित्र व्यवसाय फेरि फस्टाए । त्यहीबेलामा नारायणघाटको ‘जलमा’ सिनेमाहलको व्यवस्थापन हेर्न उनी निम्त्याइए । उनी दुई वर्ष त्यही बसेँ । त्यो अवधिमा उनले कमाएको पैसाले नारायणघाटमा घर नै बनाए । जीवनको उपहार र अपसादलाई हेरौँ, कुनै चलचित्रले उनको घर खोस्यो भने भने कुनै चलचित्रले उनलाई घर नै उपहार दियो । पछि नारायणघाटको हल त्यहाँका कर्मचारीहरुलाई व्यवस्थापन हेर्न दिई उनी फेरि हेटौडा फिर्ता भए । खरानीको थुप्रोमै उनले फूलवारी रोपे । लडेकै भुइँ टेकेर उनी उठे । हारेकै खेल खेलेर फेरि जीत हासिल गरे ।
त्यसपछि उनले हेटौडामा गएर ‘ओमेक्स हल’ बनाए, जुन हल काठमाडौबाहिरको पहिलो पटक निर्माण भएको मल्टिप्लेक्स हल थियो । पहिला चलचित्र हेर्न वीरगञ्ज र रक्सौल जाने तर ओमेक्स हल बनेपछि भैरहवा, नारायणघाट, जनकपुर, विराटनगर वीरगन्ज, रक्सौल र मोतिहाराका दर्शकसम्म ओइरिने गर्दथे । नेपाली दर्शक भारत जाने प्रथालाई चिरेर, भारतीय दर्शकलाई हेटौंडामा ओइराएकाले एक जना ब्यापारीले उनलाई ‘नरेन्द्रजी तपाईले त खोला नै फर्काइदिनुभयो’सम्म भन्न भ्याएका थिए रे ।
हल राम्रै चलिरहेको थियो । उनको जीवनको आरोह फेरि सुरु भयो । कोेभिड महामारी सुरु हुनु भन्दा केही समयअगाडि उनी काठमाडौ आएको बेलामा, ओमेक्स हलमा आगलानी भयो । उनको जीवनको त्यो एउटा दुखद क्षण थियो । व्यवसायमा सहयोगी बन्दै आउनु भएका बुबा पनि रिटाएर जीवन जन्मथलो कीर्तिपुरमै बस्छु भनेर आइसकेका थिए । छोराहरुको पढाइ पनि काठमाडौंमै भएकोले, उनको काठमाडौं आउने जाने क्रम बढन थाल्यो । यसरी उनले पारिवारिक व्यस्तता, प्रेम र मोहले हेटौडालाई त्यागेर काठमाडौं आए । हाल उनी आफ्नै जन्मभूमि कीर्तिपृुर सिनेप्लेक्स चलाइरहेका छन् । कीर्तिपुरको एक मात्र सुविधाजनक हल भएकोले, जुन हलको व्यवसाय अहिले राम्रो छ । हलको व्यवस्थापन आफ्नै जीवनसँगिनी सिता श्रेष्ठले गरिरहेकी छिन् । छोराहरु शशांकमान र शाश्वतमान सिंहको साथसहयोग पनि उनलाई रहँदै आएको छ ।

चलचित्र निर्माणकै क्रममा विभिन्न देशमा उनको भ्रमण भएको छ । अमेरिका, जापान, कोरिया, कतार, दुबई, मलेसिया र बैंकक भ्रमण गरिसकेका छन् । यसैगरी उनी नेपाल चलचित्र संघका बर्तमान अध्यक्ष पनि हुन् । चलचित्रमा पुर्याएको योगदानस्वरुप उनी थुप्रै संस्थाले सम्मानित भएका छन् । हालै ‘ज्यापु संस्कृति विकास कोष’बाट ‘राष्ट्रिय ज्यापु दिवश’ को उपलक्ष्यमा सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको बाहुली सम्मानित भएका छन् भने ‘चलचित्र विकास बोर्ड’बाट राष्ट्रपतिको बाहुली ‘विशेष योगदान सम्मान–२०८०’ प्राप्त गरेका छन् ।
आज जीवनको गोधुलीमा आएर पनि उनका सपना तुहिएका छैनन् । आज आएर उनलाई आफ्नो जन्मभूमि कीर्तिपुरको संस्कृति, प्रकृति, इतिहासलाई लिएर चलचित्र बनाउने रहर पल्लवित भएको छ । आफ्ना कान्छा छोरा शाश्वतमान सिंहलाई त्यही चलचित्रमा डेब्यु गराउने सोच रहेको बताउँछन् । समग्रमा उनको जीवन हाँसो र आँसृुले लेखिएको छ । हेर्दा रंगिन देखिन्छ तर पर्दामा ब्ल्याक एन्ड ह्वाइट पनि टाँसिएको कमैले देखे । चलचित्रका कथालाई सेतो पाना दिएर, आफ्नो कथा भने टुहुरो बनाएका नरेन्द्र महर्जनको जीवनकथा राज्यले लेख्नुपर्छ, हामीले लेख्नुपर्छ । उनको योगदानलाई सदैव कदर गर्नुपर्छ । त्यही हलको दर्शक, वितरक र मालिकसम्म भएको नरेन्द्र महर्जन कुनै चलचित्रको पात्र होइन । पिताको जीवनको धर्कालाई केही लम्ब्याउन हस्पिटल हस्पिटल चहारिरहेका नरेन्द्र महर्जन कुनै चलचित्रमा भेटिँदैनन् । त्यो नरेन्द्र महर्जनलाई हामीले खोज्नुपर्छ, हामीले लेख्नुपर्छ ।