भिजिट भिसा प्रकरणमा अख्तियारले फेला पार्‍यो आजसम्मकै ठूलो प्रमाण

बुधबार, ४ असार २०८२

काठमाडौं—भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियारले आजसम्मकै ठूलो प्रमाण फेला पारेको छ । अख्तियारले नियन्त्रणमा लिएका अध्यागमन प्रमुख तथा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको डायरीबाट नक्कली कागजात बनाएर भिजिट भिसामार्फत विदेशिनेहरूको नामावली र उनीहरूबाट संकलित मोटो रकमको विवरण भेटिएको हो । डायरीमा मेन पावर कम्पनी, ट्राभल एजेन्सी र कर्मचारीको विवरणसमेत उल्लेख छ ।

स्रोतका अनुसार, भट्टराईको डायरीमा भिजिट भिसामा जानेहरूको नामावलीका साथै उनीहरूलाई पठाउने मेन पावर कम्पनी, ट्राभल एजेन्सी र विमानस्थलमा समन्वय गर्ने कर्मचारीको विवरणसमेत उल्लेख छ । अख्तियारले गत जेठ ७ गते अध्यागमन कार्यालयमा छापा मारी भट्टराईलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा आवश्यक कागजात र मोबाइलसमेत जफत गरी अनुसन्धान अघि बढाइएको थियो ।

यो प्रकरणमा विगत लामो समयदेखि त्रिभुवन विमानस्थलबाट नक्कली कागजात बनाई भिजिट भिसामा मानिस पठाउने धन्दामा अध्यागमनका कर्मचारीकै संलग्नता देखिएको अख्तियारले जनाएको छ । यस घटनामा गृहमन्त्रालयकै उच्च तहका कर्मचारीदेखि गृहमन्त्री रमेश लेखककै समेत संलग्नता रहेको आरोप लागेको छ । गृहमन्त्री लेखककै सचिवालयमा रहेका कर्मचारी समेत यसअघि भिजिट भिसा प्रकरणमै अनुसन्धानको दायरामा आएका थिए । ती कर्मचारीलाई फेरि आफ्नै सचिवालयमा राखेपछि गृहमन्त्री लेखकमाथि प्रश्न उठेको हो।

यस प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएका छन् । गत जेठ १३ गतेदेखि सदन अवरुद्ध हुँदै आएकोमा, नेकपा (माओवादी केन्द्र) ले भने सत्तारुढ दलहरूसँग सहमति गरी सदन सुचारु गर्न सहमत भएको छ । यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका अन्य प्रतिपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामाको माग गर्दै संसदमा अवरोध कायमै राखेका छन् ।