नारायणगढ–बुटवल सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

बिहिबार, ५ असार २०८२

काठमाण्डौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोले पूर्वपश्चिम राजमार्ग अनतरगत नारायणगढ बुटवल सडकखण्ड बन्द भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी बन्द भएको हो ।

बुधबार बेलुकी डाइभर्सन बनाएर सडक एकतर्फी खुले पनि बाटो चिप्लो भएका कारण गाडी विस्तारै गुडिरहेका र लामो जाम रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । खोलाको बेग बढी भएका कारण सानो बाढी आउँदा पनि डाइभर्सन बगाउने गरेको छ । त्यहाँ बनाइएको डाइभर्सन ६ पटक बगाइसकेको छ ।

यस्तै बाटो चिप्लो र हिलो भएका कारण गाडीहरु फस्दा पनि समस्या हुने गरेको छ । त्यसैले जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

यसैगरी, दुम्कीबास दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न अनुरोध गरिएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ । त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ पोखरा स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ । पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट९पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा राजमार्ग पूर्ण रूपमा नखुलेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे तोकिएका वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको हो ।